१. सुन्दर ऐतिहासिक नगर बेइजिङमा अवस्थित चीनका उत्कृष्ट उच्चशिक्षा अध्ययन संस्थानमध्येको एक रहेको छिनहुवा विश्वविद्यालयको भ्रमण गर्दा मलाई अत्यन्त खुसी लागेको छ। दशकौं लामो गौरवमय इतिहास बोकेको यो विश्वविद्यालय अवश्य एक गौरवशाली संस्था हो। खासगरी विज्ञान प्रविधि, अर्थशास्त्र तथा व्यवस्थापन र पत्रकारिता एवम् आमसञ्चार जस्ता विषयमा उच्चअध्ययन तथा अनुसन्धानका लागि ख्याति कमाएको र “आत्मानुशासन तथा सामाजिक प्रतिबद्धता” लाई मूलमन्त्र मान्ने यो विश्वविद्यालय प्राज्ञिक उत्कृष्टता, चिनिया समाजको कल्याण तथा भूमण्डलीय विकासका लागि समर्पित छ। आफ्ना लब्धप्रतिष्ठित पूर्वविद्यार्थीका कारण यो विश्वविद्यालय अवश्य गौरव गर्नसक्छ। यस प्रतिष्ठित संस्थासँग आवद्ध उच्च महानुभावहरूमा महामहिम राष्ट्रपति हु जिन्ताओ, महामहिम अध्यक्ष उ पाह्कुओ, महामहिम उपराष्ट्रपति सी चिङपिङ तथा पूर्वप्रधानमन्त्री चु रूङची समेत पर्नुहुन्छ।
२. विगतमा यस अग्रणी संस्थामा अतिथिवक्ता हुने सम्मानित नेता, राजनेता तथा विद्वानहरूको सूचीमा प्रवेश पाउँदा म गौरव र सम्मानको अनुभव गर्दछु। अध्यक्ष महोदय, सुरूमा म तथा मेरो देश एवम् जनताका प्रति व्यक्त न्यानो स्वागत वचनका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई कूटनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, व्यवसायी, छात्रछात्रा तथा नेपालका पुराना र नयाँ मित्रहरूको यस सम्मानित सभालाई सम्बोधन गर्न आमन्त्रण गर्नुभएकोमा म तपाई तथा ख्यातिप्राप्त यस संस्थाका अन्य मित्रहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नचाहन्छु। मित्रजन तथा शुभेच्छुकहरूको यस्तो सम्मानीत सभा सामु हाम्रो राजनीतिक विकासको वर्तमान अवस्था, द्वीपक्षीय सम्वन्ध तथा अन्य आपसीहितका मामिलामा आफ्नो विचार राख्न पाउँदा व्यक्तिगतरूपमा म आफैं र मेरो देश नेपाल गौरव अनुभव गर्दछौं।
३. सम्मानित मित्रहरू,
मेरा हरेक बेइजिङ भ्रमण (मेरो यो सातौं भ्रमण लगायत) मा यस विशाल महानगर र यहाँका उत्कृष्ट नागरिकको स्थायी परिचय जस्तै बनेको स्वस्फूर्त क्रियाकलाप, उदाहरणीय जाँगर तथा उत्साहको वातावरण पाउने गरेको छु। चार महान प्राचीन राजधानीमध्येको र खासगरी उत्तरी राजधानीका रूपमा परिचित बेइजिङ हाल आवादीका हिसाबले चीनको तेस्रो ठूलो सहर बनेको छ। यो सहर शानदार दरवारहरू, मठमन्दिर, सङ्ग्रहालय, स्मारक, नदीनाला, पर्खाल, द्वार तथा अन्य आकर्षक सांस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक स्थलले भरपूर छ। चीनले परिचय स्थापित गरेअनुरूप बेइजिङ चीनको राजनीति, शिक्षा, संस्कृति, कला र वास्तुकला एवम् मुलुकको सदियौंको इतिहासको अभिन्न अङ्ग तथा प्राचीन सभ्यतामध्ये अग्रणी दृष्टान्तका रूपमा रहेको छ। हालैको अवधि र खासगरी चीनले आर्थिक सुधार तथा उदारीकरणको मार्ग अङ्गालेपछि, यो महानगर सामाजिक, आर्थिक तथा प्रविधि विकासका विविध क्षेत्रमा विश्वभरका प्रतिष्ठित कम्पनी तथा उद्यमीहरूलाई लगानीका लागि आकर्षित गर्न सफल भएको छ।
४. यहाँहरूलाई विदितै छ, नेपालको परराष्ट्र नीतिका आधारभूत तत्वहरूमा असंलग्नताको सिद्धान्तको अनुसरण गर्नु, विश्वका सबै शान्तिप्रिय देशहरू र खासगरी हाम्रा निकट छिमेकीहरूसंँग समानता र आपसी सम्मानमा आधारित मैत्रीपूर्ण तथा सार्थक सम्वन्ध प्रवर्द्धन गर्नु, संयुक्त राष्ट्रसंघको बडापत्रमा अन्तर्निहित सिद्धान्तहरूको निष्ठापूर्ण पालन गर्नु र विश्वब्यापी शान्ति तथा स्थायित्व कायम गर्नु जस्ता विषयहरू पर्दछन्। अति कम विकसित मुलुकमध्येको एक भएको तथा हालै सो समूहको अध्यक्षता ग्रहण गरेको नाताले हामी स्रोत साधनको अति न्यूनता, आर्थिक तथा वित्तीय संकट, खाद्य संकट, ऊर्जा संकट, पर्यावरण सम्बन्धी प्रश्न तथा जलवायु परिवर्तनका दुष्प्रभाव जस्ता क्षेत्रमा यी मुलुकहरूले भोगिरहेका खास–खास समस्याहरूलाई उजागर गर्न सम्पूर्ण प्रयत्न लगाउँदैछौं। राष्ट्रियस्तरमा मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणको गतिलाई तीब्र पार्ने हाम्रो उद्देश्यमा केन्द्रित हुन हामीले आर्थिक कूटनीतिमा जोड दिएका छौं। सीमित स्रोतयुक्त अतिगरिव मुलुकमध्येको भएकाले आफ्नो राष्ट्रिय विकास प्रयासलाई तीब्र पार्न नेपाल सरकार सीमित आन्तरिक स्रोतसाधन तथा वाह्य सहयोग परिचालन गर्न सम्भव सबै उपाय अवलम्बन गर्न सचेत छ।
५.वास्तवमा नेपालको वर्तमान राजनीतिक अवस्था कठिनाई र सम्भावनाहरूको सम्मिश्रण नै हो। विगत तीन वर्षको नेपालको राजनीतिक इतिहासलाई सरसर्ती हेर्दा हामी वृहत् शान्ति सम्झौता, दशक लामो द्वन्द्वको औपचारिक अन्त्य, २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समाप्ति, अन्तरिम संविधान घोषणा, संविधानसभाको सफलतापूर्ण निर्वाचन तथा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा जस्ता अनेक ऐतिहासिक घटनाहरू पार गरेको पाउँछौं।
६.करिव अढाई शताब्दीको नेपालको राजनीतिक इतिहासमा उपर्युक्त तथ्यहरू उल्लेख्य घटनाका रूपमा स्थापित भएका छन्। त्यस्तै यो विकासक्रमले शान्ति प्रक्रियालाई सकारात्मक एवम् सार्थक परिणतिमा पुर्या उन र निर्दिष्ट समय सीमाभित्रै आम नेपाली जनताको आकांक्षा अनुरूप उपयुक्त संविधान निर्माण गर्न उपयुक्त वातावरण तयार गर्ने तथा हाम्रा प्रतिवद्धता परिभाषित गर्ने कार्य गरेको छ। मुलुकका प्रमुख राजनीतिक शक्तिहरूबीच वार्ता, विमर्श, सहमति र उद्देश्यमूलक एकतामार्फत सरकार यी प्राथमिकताका उद्देश्यहरू हासिल गर्न दृढसंकल्प छ। हाम्रा केही मित्र तथा अन्तरर्राष्ट्रिय समूदायको एक पक्षमा हाम्रो वर्तमान राजनीतिक अवस्था तथा हामीले आफ्ना समस्या एवम् चुनौती सामना गर्ने क्षमतामा केही आशंका रहेको हुनसक्छ। शान्ति स्थायित्व तथा राष्ट्रिय मेलमिलापको प्रबर्द्धनका लागि सरकारले सद्भावपूर्ण दृष्टिकोण अनुरूप अत्यधिक लचकता अपनाउंदै आएको छ। मुलुकका कुनै पनि राजनीतिक शक्तिलाई एक्ल्याउने वा सीमान्तकृत गर्ने भन्दा हामी सबैको सहमतिको पक्षमा रहिआएका छौं। तथापि शान्ति तथा स्थायित्व प्रवर्द्धन र विधिको शासनका आधारभूत कुराहरू वारे राजनीतिक दलहरूले विगतका संम्झौता र समझदारी तथा स्वीकृत प्रकृयाहरूको अक्षरशः पालना गर्नुपर्ने खांँचो भने अवश्य छ। हामी हालैका वर्षका हाम्रा राजनीतिक उपलब्धि सुदृढ गर्न तथा जनताबीच भ्रातृत्व, मेलमिलाप एवम् सहिष्णुता अभिवृद्धि गर्न चाहन्छौं। हाम्रो शान्ति प्रयास तथा शान्ति, स्थायित्व तथा प्रगति संवर्द्धन गर्ने अठोटमा चीनिया सरकार तथा जनताद्वारा निरन्तर प्रदर्शित समर्थन र समझदारीको हामी यस अवसरमा सराहना गर्न चाहन्छौं।
७. समाजका सीमान्तकृत तथा तिरष्कृत समूहलाई मूलप्रवाहमा ल्याउने र राष्ट्रिय एकता एवम् समभाव प्रवर्द्धन गर्ने हाम्रा प्रयासबीच समुचित सन्तुलन कायम गर्ने उद्देश्यका हिसाबले हाम्रा सामु उपस्थित मूलभूत चुनौतीहरूमा समावेशीकरणको विस्तार र कठिनाई, राज्य पुनःसंरचना, शासन प्रणालीको स्वरूप तथा संघीय संरचना आदि पर्दछन्। संविधानसभा हाल तोकिएको समयभित्र अर्थात् जेठ १४, २०६७ सम्ममा संविधानको मस्यौदा तयार गर्ने कार्यमा संलग्न छ र सभाका विभिन्न विषय–समितिहरू नयाँ संविधानका आधारभूत तत्वहरूमा समाविष्ट हुनुपर्ने विभिन्न प्रश्नहरूमा क्रियाशील छन्।
८. मुलुकमा चिरस्थायी र दीगो शान्ति तथा स्थायित्व सुनिश्चित गर्न राजनीतिक प्रक्रियालाई संस्थागत गर्नु अत्यावश्यक हुन्छ भने नेपाली जनताको उर्लंदो आकांक्षाअनुरूप द्रुततर सामाजिक–आर्थिक रूपान्तरण तय गर्न यथेष्ट सामाजिक–आर्थिक कार्यक्रमको कार्यान्वयनले सर्वाधिक महत्व राख्ने कुरामा सरकार सचेष्ट छ। द्रुत आर्थिक विकासलाई गति दिने प्रयत्नस्वरूप प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले सरकारले लगानीमैत्री नीति अवलम्बन गरेको छ र यसका लागि थप सुविधा उपलब्ध गराउन समेत तत्पर छ।
९. मित्रगण तथा शुभेच्छुक महानुभावहरू,
मेरो चालु चीन भ्रमणका क्रममा हाम्रा द्विपक्षीय सम्वन्ध र आपसीहितका विषयमा छलफल गर्न मैले यस महान देशका कतिपय उच्चनेताहरूसंँग बेइजिङ, ल्हासा र सियानमा भेटघाट गरिसकेको छु र थप भेटवार्ताका लागि प्रतीक्षारतसमेत छु। हिजो महामहिम प्रधानमन्त्री वेन जिया वाओसंँग मेरो विस्तृत छलफल भयो। हाम्रो वार्तामा व्दिपक्षीय सम्बन्धका व्यापक श्रृङ्खलाहरू समाविष्ट थिए तथा हामीले दुई देशबीच चीरस्थायी मैत्री सहितको वृहत साझेदारीपूणर््ा सहयोगको प्रवर्द्धन गर्ने कुरामा सहमत भयौं। भ्रमणको मुख्य उद्देश्य आपसी समझदारी तथा विश्वासको थप प्रवर्द्धन गर्दै सदैव हार्दिकतापूर्ण रही आएको हाम्रो सम्बन्धलाई नयांँ उचाइमा पुर्यााउने रहेको छ।
म बाट विगतमा भएका भ्रमण तथा अन्तर्त्रि्कयामा जस्तै यसपटक पनि मैले चीनिया नेतृत्वगणमा नेपाल र नेपालीप्रति मित्रता र समझदारीको अथाह सागर पाएको छु।
यस अवसरमा हाम्रा जनताको आकांक्षाअनुरूप मित्रता तथा सहयोगका हाम्रा द्विपक्षीय सम्वन्धहरूलाई नयाँ उचाइमा पुर्यारउन हामी प्रतिवद्ध रहेको उल्लेख गर्न चाहन्छु। त्यस्तै म, नेपाल र चीनबीच पारस्परिक लाभ र निकट समझदारीमा आधारित सम्वन्ध स्थापना र प्रवर्द्धन गर्न अद्वितीय भूमिका निर्वाह गर्ने हाम्रा दुबै देशका स्वप्नद्रष्टा राजनेताहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु।
१० नेपाल र चीनबीचका सम्वन्ध उत्कृष्ट रहेका छन्। हाम्रो मैत्री तथा सहयोगको सम्वन्ध तथा फलदायी द्विपक्षीय आदानप्रदानको इतिहास निकै पुरानो छ। यसमा सुन्दर तथा विशाल हिमाच्छादित हिमालयले कहिल्यै छेकबार गरेन बरू यसले हामी दुई छिमेकीबीच सुखद रूपमा रहेको सुमधुर, हार्दिक तथा न्यानो सम्वन्धलाई नै सदैव सम्झना दिलायो। अध्ययन गर्न तथा आपसी सहयोग बढाउन, दुबै पक्षलाई उपयोगी हुने ब्यापार तथा आर्थिक क्रियाकलापमा संलग्न हुन र जनस्तरमा मित्रता तथा समझदारीको प्रवर्द्धन एवम् प्रसार गर्न सरकारी प्रतिनिधिहरू, ठूला विद्वानहरू, अन्वेषकहरू र सर्वसाधारण यात्रुहरू समेतले सदियौंदेखि हाम्रा सीमा वारपार गर्ने गरेका छन्। नेपालका अमरपुत्र भगवान बुद्ध अर्थात् शाक्यमुनि वुद्ध शताब्दिऔंदेखि हाम्रा दुई देशबीच महत्वपूर्ण सम्पर्क माध्यम बनेका छन्। उनका शान्ति तथा अहिंसाका शिक्षाले हाम्रा सम्वन्धलाई प्रेरित र निर्देशित गरेका छन् र वास्तवमा तिनले नै हाम्रो मैत्रीलाई संस्थागत गरेका छन्। लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ युगौंदेखि यस देशका जनताका तीर्थस्थल रहिआएका छन् भने नेपाली जनताले सोह्र सय वर्ष अघिदेखि निर्माणकार्य र मित्रताको सुदृढीकरणका लागि चीन भ्रमण गरेका दृष्टान्त पनि छन्। वुद्धभद्र (सोह्र सय वर्ष अघिदेखि), भृकुटी तथा अरनिकोले हाम्रा सम्वन्ध थप मजबुत गर्न अद्वितीय भूमिका निर्वाह गरेको समेत म उल्लेख गर्न चाहन्छु। दुवै देशमा भएका विविध परिवर्तनका बाबजुद हालैको इतिहासमा हाम्रा द्विपक्षीय सम्वन्धको एक महत्वपूर्ण पक्ष भनेको निरन्तरको न्यानो मित्रता नै हो।
११. सन् १९५५ मा हाम्रा निकट मैत्री तथा सद्भावपूर्ण प्राचीन सम्वन्धहरूलाई थप बल दिन दुई देशले औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय लिएपछि हामीले निरन्तर शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित निकट सम्बन्ध राख्दैआएका छौं। त्यसबखत् हाम्रा दुबै देश अन्तर्राष्ट्रिय जगतसंग सीमित सम्पर्कमा थिए। संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायमा चीनको न्यायोचित स्थान तथा ताइवानको निश्काशनका लागि नेपालले सदैब दृढ समर्थन जारी राख्यो। त्यस्तै हामीले सदैव ताइवानलाई चीनको अभिन्न अङ्गका रूपमा मान्यता दिएका छौं। तपाईहरूको महान देशसंगको हाम्रो सम्वन्धलाई थप सुदृढ गर्ने हाम्रो नीतिअनुरूप हामीबीच सन् १९५६ मा चीनको स्वशासित क्षेत्र तिब्वतबारे एक सम्झौता सम्पन्न भएको छ। विगत पाँच दशकको हाम्रो द्विपक्षीय विकास सहयोगमा आर्थिक तथा प्राविधिक सहयोग अन्तर्गत चीनले नेपाललाई उदार सहयोग प्रदान गरेको छ।
१२. यहाँहरूलाई अवगतै छ, नेपालले अनुसरण गरेको 'एक चीन' नीति तथा ताइवान र तिब्बत स्वशासित क्षेत्रलाई चीनको अभिन्न एवम् अविभाज्य अंगका रूपमा मान्यता नै नेपाल–चीन बीचको राजनीतिक सम्वन्धको आधारभूत जग रहेको छ। हामीले सदैव आफ्नो भूभाग हाम्रा छिमेकीहरू विरूद्ध प्रयोग हुन नदिने नीति अपनाउँदै आएका छौं। हाम्रा अति महत्वपूर्ण दुई छिमेकी, चीन र भारतले सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेकोमा हामी खुसी छौं। आर्थिकमन्दी तथा भूमण्डलीय वित्तीय संकटका बाबजुद यी दुई देशले निरन्तर उच्च वृद्धिदर हासिल गरेका छन् र हालैका वर्षमा महत्वपूर्ण आर्थिक शक्तिका रूपमा अगाडि आएका छन्। यस अवस्थाको लाभ उठाई हामी हाम्रो सामाजिक तथा आर्थिक रूपान्तरणको गतिलाई तीब्र पार्न चाहन्छौं। हाम्रो सामुहिक हितका लागि नेपाल यी द्रुतगतिमा विकास गरिरहेका दुई देशबीच सेतु तथा पारवाहन मार्गको रूपमा सेवा प्रदान गर्न तत्पर छ। आपसीहितसँगका सम्बन्धलाई थप विस्तार गर्न इच्छुक छौं र ती देशसँंग हाम्रा आर्थिक, प्राविधिक, वाणिज्य तथा लगानी नीतिहरू समन्वित गराउन चाहन्छौं।
चीन–भारत सम्बन्ध विभिन्न तहमा विस्तार हुँदै जाँदा सबैपक्ष लाभान्वित हुनेगरी क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न र यस क्षेत्रका दसौंलाख जनताको जीवनस्तरमा सुधार ल्याउन नेपाल, चीन र भारत संलग्न त्रिपक्षीय सहयोग विकासमार्फत नेपालमा जुनसुकै महत्वपूर्ण विकास आयोजना सञ्चालन गर्न थप सरल र सहज हुने हाम्रो विश्वास छ।
१३. हालैका वर्षमा मुख्य–मुख्य क्षेत्रमा आफ्नो अर्थतन्त्र आधुनिकीकरण गरी चीनले हासिल गरेको अतुलनीय प्रगति तथा समृद्धिमा एक मित्र तथा शुभेच्छुकका हैसियतले नेपाल हर्षित छ। महामहिम राष्ट्रपति हु जिन्ताओको सक्रिय नेतृत्वमा तपाईंहरूको मुलुकले हासिल गरेको सामाजिक तथा आर्थिक विकासको उच्चस्तरीय सफलताद्वारा म अति प्रभावित भएको छु। सबल, एकतावद्ध, शान्तिपूर्ण एवम् समृद्ध चीनले विश्वशान्ति, स्थायित्व तथा समृद्धिलाई सुनिश्चित एवम् प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने हाम्रो विश्वासका कारण हामी चीनलाई उसका विकास लक्ष्य हासिल गर्न पूर्ण सफलता मिलोस् भन्ने चाहन्छौं। चीनको स्वशासित क्षेत्र तिब्बतले विविध क्षेत्रमा गरेको प्रगतिको पनि हामी सराहना गर्दछौं। यातायात सञ्जाल बृद्धिमा थप जोडसहित तिब्वत स्वशासित क्षेत्रको अर्थतन्त्रमा भएको उल्लेख्य विकास हाम्रा लागि ठूलो रूचिको विषय भएको छ।
१४. मैले यसअघि नै उल्लेख गरेअनुसार, नेपाल–चीनबीच तथा हाम्रो देश र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय सहयोग सुदृढ गर्न यथेष्ट सम्भावनाहरू विद्यमान छन् भन्नेमा हामी विश्वस्त छांै। दुई देशबीच हवाई सम्पर्क र सतहमार्गको ब्यापक विस्तार गर्दै द्विपक्षीय ब्यापार एवम् आर्थिक सहयोग अभिवृद्धि गर्नु अत्यावश्यक छ। हाम्रातर्फ, हाम्रा ग्रामीण तथा दुर्गम इलाका, खासगरी भूगोल र पहुँचका हिसाबले ब्यापक असमता रहेको देशको उत्तरी क्षेत्रमा, हामीले रोजगारीसर्जक क्रियाकलापलाई प्राथमिकता दिन र समयको मागअनुसार सन्तुलित, एकीकृत तथा समावेशी विकास प्रवर्द्धन गर्नका लागि समुचित प्रविधि प्रवर्द्धन गर्न आवश्यक छ। कृषि तथा पशुपालनका क्षेत्रमा समेत द्विपक्षीय सहयोग विस्तारका ब्यापक सम्भावनाहरू छन्। आपसी हितका लागि सहकार्य गर्नसकिने अर्को क्षेत्र पर्यटन हो। हामीले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको अवसरमा हामी ठूलो संख्यामा चीनिया पर्यटकहरूलाई स्वागत गर्न चाहन्छौं। पर्यटन क्षेत्रको विकासले गरिबी तथा पछौटेपन विरूद्धको हाम्रो संघर्षमा सकारात्मक योगदान पुर्यााउने हाम्रो धारणा छ।
१५. हाम्रो द्विपक्षीय सहयोगको विद्यमान अवस्थाका अतिरिक्त, अन्य विविध क्षेत्रमा समेत परस्पर लाभदायी सहयोग विस्तार गर्न सकिनेमा म विश्वस्त छु। उदाहरणार्थ, जलवायु परिवर्तनका कारण हिमाली पर्यावरणमा पर्ने दूरगामी दुस्प्रभाव नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्नेतर्फ नेपाल र चीनले सुस्पष्ट र सार्थक रूपमा सहयोगलाई अघि बढाउन सक्छन्। यसै महिना कोपेनहेगनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन र सो अवसरमा भएका छलफलले देखाएअनुसार जलवायु परिवर्तनको हामीमाथि पर्ने प्रभाव वास्तविक हो र यो खतरनाक समेत हुनेछ। यसले हामी दुबैलाई दूरगामी तथा भयावह परिणाम दिनसक्ने अवस्था छ।
१६. नेपाल तथा चीनबीचका आपसी सन्तोषका सम्बन्धहरूलाई थप सुदृढ गर्नमा उच्च महत्व दिंदैगर्दा, दुबै देशका जनताको आकांक्षाअनुरूप हाम्रा द्विपक्षीय सम्वन्धहरू नयाँ उचाइमा पुग्नेमा हामी विश्वस्त छौं। यिनै भनाइहरूका साथ, अध्यक्ष महोदय, म तपाईं, तपाईंका मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण सम्मानितजनलाई यहाँहरूको धैर्यका लागि तथा मलाई विद्वद्जन, बुद्धिजीवीवर्ग, नेपालका मित्र तथा शुभेच्छुकहरूको यस विशद सभासँंग भेटघाट गर्ने यस्तो महत्वपूर्ण अवसर प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु। मित्रता र सहयोगका हाम्रा द्विपक्षीय सम्वन्धको थप प्रवर्द्धन र सुदृढीकरणका लागि आउनुहोस्, हामी एकताबद्ध भई काम गरौं।
यहाँहरू सबैलाई पुनः धन्यवाद।
Set as favorite
Bookmark
Email this
Comments (0)

Write comment



Mister Wong
Digg
Del.icio.us
Slashdot
Furl
Yahoo
Technorati
Newsvine
Googlize this
Blinklist
Facebook
Wikio
