weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

जलवायु विश्व सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले गर्नु भएको सम्बोधनको पूर्ण विवरण

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
अध्यक्ष महोदय,
महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरू,
संयुक्त राष्ट्रसङ्घका महासचिव
विशिष्ट प्रतिनिधिहरू
महिला एवम् सज्जनवृन्द,

मैले सगरमाथाको देश नेपालबाट यहाँहरू सबैलाई हार्दिक शुभकामना लिइआएको छु। नेपालको मन्त्रिपरिषद्ले दुई हप्ताअघि सगरमाथाको आधारशिविरमा बैठक गरी हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनका भयावह प्रभावहरूलाई उजागर गरेको छ। मन्त्रिपरिषद्को यस बैठकले १० सूत्रीय जलवायु परिवर्तनसम्बन्धी सगरमाथा घोषणापत्र जारी गरेको छ जसमा हालको २० प्रतिशतको संरक्षित प्राकृतिक आरक्षण क्षेत्रलाई विस्तार गरी २५ प्रतिशत र वनक्षेत्रलाई मुलुकको कुल क्षेत्रफलको ४० प्रतिशतसम्म पुर्यारउने कुराहरू रहेका छन्। गएको हप्ता, ११ डिसेम्बरका दिन, विश्वका सुन्दरतम हिमशिखरहरू आरोहण गरेका कैयौँ विख्यात पर्वतारोहीहरूलगायत विश्वभरबाट आएका सयकडौँ मानिसले यस सुन्दर आतिथ्येय सहर कोपेनहेगनमा हिमाल बचाउने पर्वतारोहीहरूको शिखरसम्मेलनको क्रममा पैदलयात्रा सम्पन्न गरेका छन्।
 
यी कार्यक्रमहरूका साथै समस्त नेपाली जनताका तर्फबाट मैले ल्याएको सन्देश के छ भने हाम्रो धर्तीलाई हामी हराभरा राखौँ ताकि हिमालय, आल्पस र एन्डिज पर्वतमालाका शिखरहरू सदा हिउँले सेताम्य रहुन् र हाम्रा नाति पनातिहरूले पनि तिनको आरोहण गर्न र प्रशंसा गर्न पाइरहून्। यदि हामी अहिले चुक्यौँ र निर्णायक कदम लिन सकेनौँ भने हाम्रा भावी सन्ततिहरूले हिमाली शृङ्खलाहरूको सुन्दरता अनुभव गर्नबाट वञ्चित हुनेमात्र होइन, हिमालयबाट निस्कने ठूल्ठूला नदीछेउ बसोबास गर्ने एक अरवभन्दा बढी मानिसहरूको जीवन नै गम्भीरतापूर्वक प्रभावित हुन जानेछ। हिमाली क्षेत्र तेस्रो ध्रुव हो र दक्षिण एसियाको पानीको मुहान नै हो भन्ने हामीले मनन गर्नुपर्दछ। नेपालको तापक्रम वृद्धि विश्वव्यापी औसत वृद्धिभन्दा धेरै बढी छ। यसले दीर्घकालमा सम्पूर्ण क्षेत्रकै जलवायु प्रणालीलाई प्रतिकूल प्रभाव पार्ने देखिन्छ। हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ। नेपालमा धेरैवटा त्यस्ता खतरनाक तालहरू छन् जो कुनै पनि बखत फुट्न सक्दछन्। अप्रत्यासित वर्षाको साथसाथै बेमौसमी वर्षा, बाढी र खडेरीको अवस्था समेत आउने गरेको छ। जलवायुमा देखिएको यस्तो विषम परिवर्तनले नेपाललगायत यस क्षेत्रमै खाद्य असुरक्षा बढाउनुको साथै मानिसको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ। पृथ्वीको तापमानको वृद्धिलाई नियन्त्रण गर्न हामी अहिले नै क्रियाशील भएनौं भने हिमाली क्षेत्रका वनस्पति र वन्यजन्तु लोप हुने खतराका साथै यहांको जैविक विविधता गम्भिररूपमा प्रभावित हुने र परिवेश प्रणाली पनि अपूरणीयरूपमा क्षतिग्रस्त हुने देखिन्छ। यद्यपि विश्वव्यापी तापक्रम वृद्धिमा हिमाली क्षेत्रमा बसोवास गर्ने मानिसहरूको योगदान नगण्य छ तैपनि उनीहरू नै यस्तो प्रभावको पहिलो र अत्यन्त गम्भिर शिकार भएका छन्। यो न्यायोचित होइन। त्यसर्थ, हामीहरू हाम्रा साझा समस्यालाई अन्य हिमाली मुलुकसँग एकसाथ उचाल्न चाहन्छौ।  
 
अध्यक्ष महोदय,
कमजोर परिवेश प्रणाली र निर्वाहमुखी कृषिमा आधारित एवं भूपरिवेष्ठित र अतिकम विकसित मुलुक भएको नाताले गरिवी र पछौटेपन विरुद्धको लडाईमा नेपालले गम्भिर चुनौतीहरू सामना गर्नु परिरहेको छ। हाम्रो वातावरण र प्राकृतिक संशाधनहरूलाई जलवायु परिवर्तनको प्रभावबाट जोगाउनु हाम्रा लागि नयाँ र थप चुनौती हुन गएको छ। विकसित मुलुकहरूले अतिकम विकसित मुलुकलाई विशेषरूपमा केन्द्रित गरेर नियमित विकास सहायताका अलावा दिर्घकालीन आर्थिक सहायता उपलब्ध गराउन प्रतिबद्धता जनाउनु पर्दछ। विकसित मुलुकहरूले जोखिममा परेका मुलुकहरूलाई प्राथमिकताका आधारमा आवश्यक अतिरिक्त साधन र प्रविधि सहयोग गर्नुपर्दछ। तापक्रम वृद्धिको प्रतिकूल एबं अप्रत्यासित परिणाम रोक्न हामी सवैले सामुहिकरूपमा क्रियाशील हुनुपर्दछ।
 
अध्यक्ष महोदय,
यो विश्वव्यापी चुनौतीलाई प्रभावकारीरूपले सामना गर्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय कार्ययोजना र क्योटो प्रोटोकललाई हामीले मूल आधारका रूपमा लिएका छौंँ। हामीले यी अन्तर्राष्ट्रिय सम्झौताहरू साझा तर फरक जिम्मेदारी तथा फरकफरक क्षमताका सिद्धान्तमा आधारित हुनाले हामी सबै मुलुकलाई यिनको प्रभावकारी कार्यान्वयन गर्न आह्वान गर्दछौँ।
नेपाल आफ्नो भूमिका निर्वाह गर्न तयार छ। हामीले विश्वकै सर्वाधिक प्रभावकारी सामुदायिक वन कार्यक्रमहरू विकसित गरेका छौँ। जलविद्युत् तथा सौर्य एवम् वायु ऊर्जाका क्षेत्रमा हाम्रो ठूलो सम्भाव्यतालाई दृष्टिगत गर्दा हामी कार्बन न्युट्रल मुलुक हुनसक्ने सम्भावना राख्दछौँ। त्यसका लागि हामीलाई ठूलो मात्रामा अन्तर्राष्ट्रिय सहयोग र समर्थन आवश्यक पर्दछ।  
 
क्योटो प्रोटोकलअन्तर्गत सहमति भएअनुरूप हरितग्यास उत्सर्जनलाई घटाउने विद्यमान प्रतिवद्धतालाई पालना गर्नु हामी विकसित मुलुकहरूलाई आह्वान गर्दछौं। यस शिखर सम्मेलनलाई हामी हरितगृह ग्यास उत्सर्जनलाई अझ घटाउनका निम्ति महत्वाकाङ्क्षी विश्वव्यापी एबं राष्ट्रिय लक्ष्यहरू निर्धारित गर्न आग्रह गर्दछौँ। यी प्रयासहरूका वावजुद पनि जलवायु परिवर्तनका प्रभाव आगामी कैयौँ वर्षसम्म पनि परिरहने अवश्यम्भावी छ। तसर्थ विकासशील एवं अल्पविकसित मुलुकहरूलाई अनुकूलन एबं प्रविधि बिकास र हस्तान्तरण गर्ने कार्यमा ठोस सहयोग पुर्याीउन हामी आह्वान गर्दछौं।  
 
हामी उदीयमान अर्थतन्त्रहरूको विकासका न्यायोचित अभिलाषाप्रति समर्थन जनाउँदै विश्वको तापमान कम गर्न सहयोग पुग्ने किसिमका महत्वाकाङ्क्षी लक्ष्यहरू निश्चित गर्न आग्रह गर्दछौँ किनभने उनीहरूका क्रियाकलापबाट हिमाली क्षेत्रको संरक्षणमा प्रत्यक्ष प्रभाव पर्न जानेछ।
 
अध्यक्ष महोदय,
७७ राष्ट्रको समूह र चीनका तर्फबाट सुडानले दिएको वक्तव्य तथा अतिकम विकसित मुलुकहरूका तर्फबाट लेसेथोले दिएको वक्तव्यसँग म आफ्नो वक्तव्यलाई आबद्ध गर्न चाहन्छु। उनीहरूले जोड दिएअनुसार हाम्रा बाँच्न पाउने तथा विकाससम्बन्धी सम्पूर्ण अधिकार संरक्षित गर्दै सहस्राब्दी विकास लक्ष्य प्राप्तिका हाम्रा प्रयासहरूलाई दोब्बर गर्नु आवश्यक छ। रोग, गरिबी र अशिक्षाबाट मुक्ति पाउने अल्पविकसित मुलुकका जनताको चाहना पूरा गर्न थप विश्व ऐक्यबद्धता चाहिन्छ।
 
सेता हिमाल, निला सागर एवम् निलो आकाससहितको हाम्रो हराभरा धर्तीको सौन्दर्य र सौजन्यबाट हाम्रा वर्तमान र भावी सन्ततिहरूले फाइदा लिन सक्नेगरी हामी यो सम्मेलनलाई आशा र सफलताको एउटा कोसेढुङ्गाका रूपमा सफल पार्न सकौ भन्ने कामना गर्दछु।
नेपालका तर्फबाट म निम्न प्रस्ताव गर्दछु।
 
१. जलवायु परिवर्तनका विषयलाई सम्बोधन गर्न लैंगिक संवेदनशील दिगो विकास र गरिबी निवारण सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्दछ।
 
२. हामीले कोपेनहेगनमा सन्धि र क्योटोको पदचिह्नअनुरूप महत्वाकाङ्क्षी र कानुनीरूपबाट बाध्यकारी व्यवस्था गर्नुपर्दछ। विकसित मुलुकहरू हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्न महत्वाकाङ्क्षी लक्ष्यहरू हुनुपर्दछ। वायुमण्डलीय तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा तल राखिनुपर्दछ।
 
३. हामीले हाम्रो ग्रहको भविष्यलाई विचार गर्नुपर्दछ र हामीले हाम्रो साझा तर विविधतायुक्त जिम्मेवारीलाई बुझ्नुपर्दछ।
 
४. अतिकम विकसित र अत्यन्त जोखिममा परेका राष्ट्रहरूलाई सबैभन्दा उच्च प्राथमिकता दिनुपर्दछ किनभने यी देशले जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगिने सम्भावना सबैैभन्दा कम हुन्छ।
 
५. अतिकम विकसित मुलुकको चासो र हितलाई बहन गर्नेगरी संस्थागत संरचनासँगै स्रोत र प्रविधिसँगको सहज र प्रत्यक्ष पहुँचमार्फत पूर्वानुमानित, ठोसरूपमा उन्नत र दिगो लगानी सुनिश्चित गर्नुपर्दछ।  
धन्यवाद।
Comments (0)add comment

Write comment
smaller | bigger

security image
Write the displayed characters


busy