weekly nepal
You are here: गृहपृष्ठ
Banner
Banner
Banner

धेरैले पढेको

भारु र नेरुको विनिमयदर स्थीरता

Hits smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपाल राष्ट्र बैंकका संस्थापक गर्भनर हिमालयन शमशेर जवराका अनुसार राष्ट्र बैंक स्थापना हुँदा भारतीय मुद्रा र नेपाली मुद्राको विनिमयदर हालको जस्तै भारतीय रुपैयाँ (भारु) १०० बराबर नेपाली रुपैयाँ (नेरु) १६० नै थियो। बीचमा दुई मुद्रालाई समदर अर्थात भारु १०० बराबर नेरु १०० सय बनाएको थियो। त्यो दिगो रहन सकेन। त्यसलेे नेपाली अर्थतन्त्रलाई हित गरेन। तत्कालै भारु १०० बराबर नेरु १६० बनाइयो। बीचमा एक पटक फेरी भारु १०० बराबर नेरु १४५ र पुनः १५० बनाइएको थियो। त्यो पनि दिगो हुन सकेन। फेरी भारु १०० बराबर १६० नेरु बनाइयो र अहिलेसम्म यो स्थीर छ।  
नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थीर विनिमयदर निर्धारण गर्दा भारतीय पक्षको कुनै भूमिका हुूदैन। नेपालले आफ्नो हितलाई ध्यानमा राखेर मुद्राको विनिमयदर तोक्ने हो। मुद्रा विनिमयदर निर्धारण गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई छ।  
भारु १०० बराबर नेरु २०० बनाउूदा वा भारु १०० बराबर नेरु १०० नै बनाउँदा के हुन्छ भन्ने प्रश्न बेला बखत उठ्ने गरेको छ। दुबै विकल्प नेपालका लागि हानीकारक  हुन्छ। भारु १०० को नेरु २०० बनायो भनेे त्यसको असरले भारतीय सामान अत्याधिक महंगो हुन्छ। अहिले १६० नेपाली तिरेर १०० भारतीय रुपैयाू बराबरको सामान ल्याउन सकिएको छ भने २०० बनाउने बित्तिकै त्यही भारु १०० मूल्य पर्ने सामानलाई नेरु २०० तिर्नुपर्छ। यसरी भारु १०० को नेरु २०० बनाएपछि डलरको मूल्य पनि बढ्छ। अहिले व्यापारीले ७५ रुपैयाँमा १ डलर किनेर तेस्रो देशबाट सामान आयात गर्छ भने त्यो अवस्थामा एक डलर किन्न रु १०० भन्दा बढी तिर्नुपर्छ। त्यसले गर्दा भारतलगायत अन्य देशबाट आयातित बस्तुको मूल्य पनि अत्याधिक रुपमा बढ्छ। त्यस्तै, औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, औद्योगिक मेसिनरी सामानको मूल्य पनि अत्याधिक बढ्छ। त्यसले यहाँको मुद्रा स्फीति नियन्त्रण गर्न नसक्ने अवस्था आउन सक्छ। त्यसबाट हामीलाई फाइदा के हुन्छ भने हामीले गरेको निर्यातबाट आउने रकम बढ्छ। तर भारतमा हामीले गर्ने निर्यातको तीन गुणा बढी भारतबाट नेपाल आयात हुन्छ। त्यसैले अन्तत नेपाललाई फाइदा हुँदैन।  
त्यस्तै भारु १०० बराबर नेरु १०० गर्योप भने भारतीय सामानहरू नेपालमा एकदम सस्तो हुन्छ। भारतमा निर्मित सामान अहिले १६० पर्छ भने पछि १०० मा नै पाउन थाल्छ। नेपाली सामान बिक्नै छोड्छ। नेपालका सबै उद्योग बन्द हुनेछन्। त्यस्तै भारततर्फको निर्यात पनि घट्छ। किनकी अहिले भारु १०० बराबरको सामान पठाउँदा नेपालीले नेरु १६० कमाइ रहेको छ भने त्यो अवस्थामा भारु १०० को सामान पठाउँदा नेरु पनि १०० मात्र पाइन्छ। यस्ता व्यवहारिक समस्यालाई समेटेर नै नेपाली रुपैयाँ भातीय रुपैयाँसँग स्थिर पेग गरिएको हो। नेरुलाई भारुसँग पेग गर्दा डलरसँग भारु अवमूल्यन हुँदा नेरु स्वतः अवमूल्यन हुन्छ। हाम्रो आवश्यकता नहुँदा, हाम्रो मुद्रा डलरको तुलनामा कमजोर नहुँदा पनि कमजोर हुन्छ। त्यसैले हामीसँग विदेशी मुद्रा टन्न थुप्रिएको अवस्थामा पनि नेपाली मुद्रा कमजोर हुने गरेको छ। माग र आपूर्तिको अवस्था जे भए पनि भारतीय मुद्रा विदेशी डलरसँग अवमूल्यन भयो भने नेपाली मुद्राको मूल्य स्वत घट्छ।  
यति हुूदा हुूदै पनि हामीले यसमा धेरै चिन्ता गर्नु पर्ने अवस्था छैन। नेपाली रुपैयाँ अवमूल्यन हुँदा नेपाललाई केही फाइदा केही वेफाइदा छ। निर्यातकर्तालाई, विदेश गएर काम गर्नेलाई, ब्रिटीस आर्मीका काम गरेकालाई विदेशका कुटनीतिक काम गरेकालाई फाइदा भएको छ। निर्यात बढाउन प्रोत्साहित गर्छ। पहिला निर्यात बढाउनका लागि आफ्नै मुद्रा अवमूल्यन गर्ने चलन पनि थियो। निर्यात प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारको रुपमा आफ्नो देशको मुद्रा अवमूल्यन गर्ने चलन थियो। अहिले त्यो चलन छैन। विदेशमा काम गर्नेले पहिला १०० डलर कमाउँदा नेपालमा नेरु ६५०० आम्दानी हुन्थ्यो भने अहिले १०० डलर नै कमाउँदा पनि उसले नेरु ८ हजार पाउँछ। यसले रेमिटेन्स भित्रने क्रम बढेको छ। त्यस्तै नेरु अवमूल्यन हुँदा नेपाल घुम्न आउने पर्यटकलाई प्रोत्साहित गर्छ। पर्यटकका लागि नेपाल सस्तो गन्तव्य स्थल बन्छ। पहिला एक डलरले ६५ रुपैयाँको सामान किन्न सक्थ्यो, खाना खान सक्थ्यो, भने अहिले त्यही एक डलर खर्च गरेर ८० रुपैयाँको वस्तु तथा सेवाको उपभोग गर्न पाउँछन्। भारु १०० को नेरु १६० गर्दा नेपालीलाई भारतमा काम गर्दा पनि राम्रै भएको छ।  
सबैभन्दा ठूलो वेफाइदा भनेको अत्याधिक मूल्यवृद्धि हुनु हो। अहिले उच्च मूल्यवृद्धि हुनुमा नेरुको अवमूल्यनको प्रभाव पनि हो। तेस्रो मुलुकबाट आयात गर्नेले डलरमा सामान किन्नुपर्छ। १०० डलरको सामान किन्न पहिला आयातकर्ताले नेरु ६५ सय खर्च गर्थ्यो भने अहिले नेरु ८ हजार खर्च गर्छ। त्यसैले आयातित वस्तुको मूल्य स्वतः बढ्छ। दोस्रो सरकारको बजेट घाटा गराउन मद्दत गर्छ। सरकारले विदेशबाट लिएको ऋण तथा व्याज भुक्तानी डलरमा गर्नुपर्ने हुन्छ। तर सरकारले ऋण मात्र तिर्दैन, ऋण तथा अनुदान लिन्छ पनि। त्यसैले सरकारलाई ठूलो नोक्सान हुँदैन।  
समग्रमा भन्दा हाल भइरहेको नेपाली अवमूल्यनले नेपाललाई फाइदै भएको देखिन्छ। तर मुद्राको ठूलो मात्रामा हुने अवमूल्यन वा पुनर्मूल्यले अर्थतन्त्रलाई हित गर्दैन। विनिमयदर अस्थिर हुँदा निजी क्षेत्र निरुत्साहित हुन्छ। व्याजदर, मूल्य र विनियमदर अस्थिर भयो भने अर्थतन्त्र पनि अस्थिर हुन्छ। लगानीकर्ताहरूले यस्तो अस्थिर भएको समयमा लगानी गर्न, व्यवसाय विस्तार गर्न डराउने गर्छन्। त्यसैले मुद्राको स्थायीत्व कायम राख्नलाई राष्ट्र बैंक, नेपाल सरकार सदैव सचेत रहनुपर्छ।