| हवाई एम्बुलेन्स संचालनका लागि सहयोग जुटाउन बानेश्वरमा श्रीमद्भागवत् सप्ताह सुरु |
|
|
| १५-असोज-२०६६,बिहिवार | |
|
काठमाडौ। नेपालमा पहिलोपटक परिकल्पना गरिएको खाद्य बैङ्क र हवाई एम्बुलेन्सको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन नयाँ बानेश्वरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ शुभारम्भ भएको छ। गरिबी र भोकमरीका साथै मुलुकको जटिल भौगोलिक अवस्थाको कारण हवाई एम्बुलेन्सको आवश्यकता महसुस गरी युवा समूहले सो कार्यको परिकल्पना गरी अभियान आरम्भ गरेका हुन्। प्रधानमन्त्री माधवकुमार नेपालले सो महायज्ञको आज उद्घाटन गर्दै अभियानको सफलताका लागि शुभकामना दिनुभयो। वाचन प्रवीण कहिलिनु भएका पण्डित दीनबन्धु पोखरेलबाट कथा वाचन हुने सो महायज्ञमा उठेको सबै रकम खाद्य बैङ्क र हवाई एम्बुलेन्सको सञ्चालनका लागि कोषमा राखिने छ। स्वास्थ्यका लागि खाद्यान्न नेपाल नामक ११८ युवा संलग्न संस्थाले आजैबाट नेपालमा हवाई एम्बुलेन्सको सुरुआत गरेको जनाएका छन्। अर्को व्यवस्था नहुन्जेलसम्मका लागि फिस्टेल एयर प्रालिसँग सो संस्थाको प्राकृतिक प्रकोप राहत कोषअन्तर्गत प्राकृतिक प्रकोप, कठिन प्रसूति र एपेन्डिसाइटिसजस्ता जटिल समस्या भएका व्यक्तिको उद्धारका लागि सम्झौता पनि गरेको बताइएको छ। सो अवसरमा प्रधानमन्त्री नेपालले आम जनताको लागि गर्न खोजिएको सो धार्मिक अभियानले थोपा थोपाले समुद्र बनेझैँ ठूलो कार्य गर्नेछ भन्नुभयो। प्रधानमन्त्री नेपालले धर्मको नाममा रुढीबादी परम्परालाई त्यागेर कसैलाई गर्ने सहयोगलाई नै धर्म मान्ने परम्परा बन्दै गएको छ भन्दै अरुको उपकार नै पुण्य र अरुलाई दुःख दिनु पाप हो भन्ने धारणा धार्मिक अनुष्ठानले स्थापना गरिरहेको बताउनुभयो । धर्मलाई सामाजिक रुपान्तरण र सामाजिक सुधारको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्री नेपालले धर्मले सबैको भाषा, संस्कृति, जातजातिमा धार्मिक सद्भाव ल्याएर समृद्ध नेपाल बनाउन सहयोग पुर्याउनु पर्छ भन्नुभयो। उहाँले सो अवसरमा वर्तमान सरकारद्वारा धार्मिक सहिद घोषणा गरिएका पण्डित स्वर्गीय नारायण पोखरेलको योगदानको सम्झना र कदर गर्दै उहाँका छोरा दीनबन्धु पोखरेलले पनि नेपाली समाजमा बाबुको परम्परा धान्दै हालसम्म चार अर्ब रुपैयाँ रकम संकलन गरी पुनित कार्यमा लगाउनुभएको चर्चा गर्दै उहाँको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री नेपालले सरकारले रुकुमका कमला चन्दको जस्तै धेरैको ज्यान जोगियोस् भन्ने हेतुले हेलिएम्बुलेन्सको व्यवस्थापनका लागि विदेशी दातृ राष्ट्रसँग कुरा अघि सारेको र पूर्व, पश्चिम र मध्य गरी तीन स्थानमा हेलिएम्बुलेन्सको व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो। सो अवसरमा उपस्थित नेपाली काड्ग्रेसका सह–महामन्त्री एवम् प्रवक्ता अजुर्ननरसिंह केसी, नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपाल, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका उपाध्यक्ष जोगमेहर श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोविन्दप्रसाद थापा, नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीलगायतका वक्ताले सो पवित्र कार्यको सफलताका लागि शुभकामना दिनुभएको थियो। आयोजक समितिका संयोजक भूपति खड्काको सभापतित्वमा सम्पन्न सो महायज्ञको उद्घाटन कार्यक्रममा स्वास्थ्यका लागि खाद्यान्न नेपालका अध्यक्ष पार्वती केसीले सबैको सहयोगले थालिएको सो अभियान एक वर्षभित्रमा सम्पन्न गरिने र यसका लागि पण्डित पोखरेलको पूर्ण सहयोग रहने जनाउनुभयो। |
|
|||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||