काठमाडौं, फागुन ६ । उपन्यासकार हरीप्रसाद पाण्डेयद्वारा लिखित 'डाँडामाथिको घाम' नामक उपन्यासको लोकार्पण गरिएको छ।
तोयनाथ पाण्डेय स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा समाजमा व्याप्त सामन्ती प्रथालाई समेटिएको सो उपन्यासको लोकार्पण इतिहासकार प्रा दिनेशराज पन्त, भाषाविद् प्राडा माधवप्रसाद पोखरेल, संस्कृति साहित्यकार प्राडा वेणीमाधव ढकाललगायतले संयुक्तरूपमा गरेका हुन्।
सो अवसरमा भाषाविद् प्राडा पोखरेलले डाँडामाथिको घामको प्रशंसा गर्दै सो उपन्यास उपन्यासको भीडमा एउटा फरक रहेको बताए।
संस्कृति साहित्यकार प्राडा वेणीमाधव ढकालले डाँडामाथिको घाम उपन्यास सामाजिक उपन्यास भएको बताउँदै सो उपन्यासले शोषक सामन्ती संस्कार बोकेको पुरुष चरित्रलाई उजागर गरेको बताऐ।
कार्यक्रममा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत प्राडा वेणीमाधव ढकाललाई दोसलासहित २०६८ सालको तोयनाथ पाण्डेय स्मृति पुरस्कार प्रदान गरिएको थियो।
कीर्तिपुर, फागुन ३ । मञ्जरी साहित्य समाज त्रिवि कीर्तिपुरले 'भ्यालेन्टाइन डे'का अवसरमा खुल्ला साहित्यिक वाचन कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार भएको कार्यक्रमको उद्घाटनका क्रममा त्रिवि नेपाली शिक्षा विभागका प्रमुख प्रा डा रामचन्द्र लम्सालले पाश्चात्य जगतबाट भ्यालेन्टाइन डेको संस्कृति सुरु भएकोमा हाल नेपालमा पनि यो संस्कृति भित्रिइसकेको बताए।
पश्चिमी जगतमा धेरै अघि सुरु भएको भ्यालेन्टाइन डेको संस्कृति पूर्वीय जगतमा पनि आइरहेको चर्चा गर्दै साहित्यकार कृष्णहरि बरालले यसको सकारात्मक पक्षतर्फ विशेष ध्यान दिनु आवश्यक भएको बताए।
भ्यालेन्टाइन डेका अवसरमा आयोजित खुला साहित्यिक वाचनमा कविता, प्रेमपत्र तथा गजलजस्ता विभिन्न विधामा ५० जना युवा साहित्यकारले आ–आफ्ना रचना वाचन गरेका थिए ।
काठमाडौं, माघ २९ । कवि सुमी लोहनीद्वारा लिखित 'अनुपमा' कवितासङ्ग्रहको शनिबार विमोचन गरिएको छ। सुमीकी नातिनी अनुपमाको नामबाट कृतिको नाम तयार गरिएको हो। कवितासङ्ग्रहको विमोचन अनुपमाको अन्नप्रासनको अवसरमा प्रा.डा.कृष्णहरि बराल र साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले संयुक्तरुपमा गरेका हुन्।
प्रा.डा. बरालले सो सङ्ग्रहको समीक्षा गर्दै कवितामा प्रकृतिलाई वस्तुपरक तथा आत्मपरक किसिमले वर्णन गरिएको बताए। सङ्ग्रहमा ३९ कविता तथा १९ गीतिकविता समावेश गरिएको छ। दोलखा जिल्ला सुस्पाक्षमावती ८ मा जन्मिएका सुमीको यो दोस्रो कवितासङ्ग्रह हो।
'सातौं ऋतु' साथीभाइहरू बोल्न थालेका छन्। हुनसक्छ यो 'निमित्त नायक' जस्तो लोकप्रिय होस्। 'निमित्त नायक' सडकदेखि सदनसम्म बोलिएको मलाई सम्झना छ।
यसबाट बिक्री त बढेन तर केही बौद्धिक व्यक्तिलाई मन परेको आभास भने भयो। 'सातौ ऋतु' बारे अहिल्यै त्यस्तो भनिहाल्न सकिन्न। भर्खरै निस्केको छ। बजारमा पनि राम्ररी पुगेको छैन। यस्तो नवजात शिशुबारे के भन्ने?
अहिले त नववर्ष २०१२ लागिसक्यो। म केही अगिकै कुरो सम्भि्कन चाहन्छु अर्थात् २०११ का पनि कुराहरू।
२०११ मा धेरै घटना भए। साहित्यिक पनि। यसो भनेर म २०११ को .......थाल्दिन। आफ्नै केही कुरा र अनि हालका कुरा पनि लेख्न चाहन्छु। २०११ साल भनेपछि अप्रिलतिर होला। क्यालेण्डर हेर्दिन। नेपाली पात्रोअनुसार २०६८ वैशाख ३० गते साझा प्रकाशनसित मेरो सम्झौता भएको थियो। मेरा जम्मै नयाँ–पुराना पुस्तकहरू साझा प्रकाशनले प्रकाशित गर्नेछ। उसकै नियमानुसार। यो एउटा बेग्लै खालको सम्झौता थियो। पहिले नभएको। त्यसका लागि मैले धेरै परिश्रम पनि गर्नुपरेन। पोहोर सालको पुस्तक प्रदर्शनीमा साझामा म एक दिनका लागि लेखकका रूपमा आमन्त्रित गरिएको थिएँ। अध्यक्ष ममता झासित परिचय त्यसैबखत भयो। कुरैकुरामा मैले यो सम्झौताको कुरा गरेँ। उनीले सहर्ष मानिन्। मानिन् मात्र होइन, त्यसलाई निकै छिटो कार्यान्वयनमा पनि ल्याइन्। सहृदयतासाथ। बीचमा कुनै परिस्थिति आयो, जसमा उनले चित्त दुखाइन्। पछि चित्त बुझाइन् पनि। मेरो कुरा ठीक मानिन्। यो त भइहाल्यो, सम्झौतापछि पहिलो प्रकाशित हुने पाण्डुलिपी भयो, 'सातौं ऋतु'। यस पाण्डुलिपीका लागि अन्तबाट पनि कुरा नआएका होइनन्। तर, विशेष परिस्थितिमा साझा प्रकाशनसित सल्लाह गरेर मात्र म अन्त पुस्तक छाप्न सक्दथेँ। त्यसैले मैले, त्यस्तो विशेष परिस्थिति नदेखेकाले 'सातौं ऋतु' म अन्त दिन सक्तिन थिएँ।
'सातौं ऋतु' को पाण्डुलिपी दिनुअगि मेरो सम्झौताको मौखिक चर्चा निकै भयो, भएछ। ममता झालाई केही भनियो, केही मलाई भनियो। एउटा नमुना भनाइबाट यो स्पष्ट हुन्छ। मैले एक मित्रसँग भने मैले गरेपछि अब अरूका लागि पनि त ढोका खुल्यो।'
मित्रले भने, अरूका लागि होइन तिम्रो लागि खुल्यो। यो भनाइमा केके मिसिएको होलान् मित्रका तर्फबाट आफैं अनुमान गर्न सकिन्छ। त्यस्तो हुन्छ भन्ठानंे, चुप लागंे।
पाण्डुलिपीमाथि काम थालियो। म समयसययमा साझाका रुद्रनाथ दामोदर कोइराला र अध्यक्षकी पीए लक्ष्मीलाई सोध्दथंे। अहिले हालैमा कान्तिपुरको एक अन्तर्वार्तामा मैले भनेको छु, लेख्न हतार गर्दिन म, छान्न भने हतार गर्छु। वास्तवमा यो हो पनि। लेख्न त आउँदै जान्छ अनि लेख्दै जाने हो। त्यसमा मैले हतार गरेर पनि काम छैन। छाप्नमा हजार गर्न मिल्छ। ढिलो–चाँडो भन्ने हुन्छ। अनि मेरो अर्काे पनि एउटा संस्कारैले दिएको बानी छ मात्र बानीहरू छन् भनिदिए हुन्छ। म कुनै खास दिन पार्न चाहन्छु। जस्तो मेरो पुस्तक फागुन/चैततिर आउने छ भने म चाहन्छु त्यो बैशाखमा, वर्ण फेरिएपछि आओस्। आफ्नो जन्मदिनभन्दा म त्यसभन्दा केही पछि नै पुस्तक प्रकाशित गर्न रुचाउँछु।
यसपटक, साझाका पदाधिकारीहरूको विचार थियो, मेरो जन्म–दिनकै दिन पुस्तक प्रकाशित गरेर लेखकीय प्रति मेरो हातमा राखिदिने। नयाँ प्रेसमा पनि साझामा जडान भइरहेको थियो। त्यही मेशिनमा, मैले त भनेको थिएँ, मेरै पुुस्तकबाट त्यो प्रेसको उद्घाटन होस्। यी सब ज्यादै दबाबमूलक रुपमा होइन, केवल सामान्य इच्छाका रूपमा। केवल टेलिफोनमा हुने कुराकानीका रूपमा।
म चाहन्थंे, एउटा खास दिनमा पुस्तक प्रकाशित होस्। यो भनाइ निर्दाेष थियो, त्यसकारण अध्यक्ष पनि सहमत भइन् र पदाधिकारीहरू पनि।
काम हेर्न भने म एक दिन पनि गइन। म केही जान्दै जान्दिन। मैले नजान्ने सूची लामो छ, त्यसमा किताबको प्रविधि पनि पर्दछ। भेषराजले प्रूफ हेरे। फाइनल प्रूफ हरेको सूचना दिए। उनी दोस्रो पाठक भए पनि अर्काे प्रकारले त्यस पुस्तकका प्रथम पाठक थिए। मैले उनीबाट छोटकरीमा सोधंे। उनीले छोटकरीमा भए पनि उत्साही प्रतिक्रिया दिए। टाइप गर्दा पनि राम्रै प्रतिक्रिया आएको थियो। त्यसपछि माधव थपलियाले फाइनल प्रूफ ल्याइदिए। मैले धेरै नहेरी पठाइदिएँ, किनभने पू्रफ हेर्ने काम मलाई त्यति रुचिकर लाग्दैन। छापिएको केही त्रृटि देख्दा भने लाग्छ हेरेको भए हुन्थ्यो।
जेहोस्, समय यसैगरी बित्यो। अहिले त 'सातौं ऋतु' छापिइसकेको छ। पुस्तक पढेर पहिलो राम्रो प्रतिक्रिया दिने व्यक्ति सनत रेग्मी थिए। उनले मैले सोचेभन्दा चाँडो पढे किनभने, उनी व्यस्त व्यक्ति हुन्, पुस्तक समीक्षा त रमण घिमिरे दाइलाई कस्तो लाग्छ?'
म प्रशन्न भएँ। मैले भने– “म त जस्तोसँग पनि यात्रा गर्न तयार थिएँ। यो त एकदम कम्फर्टेबुल नाउँ हो मेरा लागि। रमाइलो हुन्छ।”
उहाँले भन्नुभयो “त्यही दाइको यात्रा एकै नहोस् भनेर हो।”
–“दाइसँग सोधंे। अब यसपछि कुरा गर्छु रमणजीसित।” जीबाले भन्नुभयो।
मैले भनें “जीबाजी अब म भेट भए पनि नभए पनि सबै इन्फरमेसन रमणलाई दिए हुन्छ म उहाँबाट लिउँला।”
यो मैले आफ्नो बानीअनुसार भनेको थिएँ। वास्तवमा रमणको नाउँ सुनेर ढुक्क भएको थिएँ। मैले भनेको थिएँ “कस्ताकस्तासित त गरिन्छ यस्ता उहाँ त भाइजस्तो मान्छे।”
यस्तो भन्दा रमण र म कुनै बखत अखबारमा सँगै काम गर्दथ्यौं, त्यसैको निकटता पनि अनुभव गरिरहेको थिएँ।
त्यसपछि जीबा लामिछाने हामी दुवैको नाउँमा इमेल पठाउनुहुन्थ्यो, रमण त्यसलाई खोल्नुहुन्थ्यो मलाई पनि पठाइ दिनुहुन्थ्यो।
ईमेलको एउटा नमुना:
अखबारहरूमा आउँदै होला। पुस्तक पढ्ने केही व्यक्तिको प्रतिक्रिया भने मैले पाएको छु, केही समय अगि, मार्टिन चौतारीले सदाशयतपूर्वक मेरो उपन्यास लेखनको अनुभवबारे बोल्न निम्त्याएको थियो। प्रश्नोत्तर पनि भएको थियो। रमाइलो भएको थियो “सातौं ऋतु” बारे पनि प्रश्न गरिएको थियो। एक निकटकै प्रश्नकर्तालाई मैले ठट्टाले भनेको थिएँ– “तपाईंले यति चाँडो पुस्तक नपढ्नु पर्ने।”
यी त छँदै थिए। अहिले त खास आएकै छैन प्रचारमा। मार्टिन चौतारीमा पनि भनेको थिएँ, शुभेच्छु, सहृदयी लेखकले गरिदेलान् नि त?
म पुस्तक ननिस्कँदैको समयको कुरा गर्दैछु। साझाबाट खबरत लिइरहेको थिएँ। एक दिन साझामा गएँ पनि। त्यहाँ मलाई कभर देखाइयो। म जान्न त त्यति जान्दिन, तर राम्रै लाग्यो र त्यो भनें।
त्यसपछि मलाई आशा लाग्यो। एक दिन खबर आयो मेसिनमा केही गडबडी भएकाले ढिलो हुन्छ। अर्कोपटक खबर आयो, बत्ती नभएकाले भनेको टाइममा आउँदैन। मैले पनि आफ्नो चित्त बुझाइ सकेको थिएँ, प्राविधिक कुरामा के भन्नु? त्यसकारण त्यसपछि चुप लागेर बसंे।
एक दिन झमक्क साँझ परिसकेपछि ढोका बज्यो। हेर्दा साझाकै गोपाल थपलिया रहेछन्। उनले 'सातौं ऋतु' को लेखक प्रति सात थान मेरो हातमा राखिदिएँ। भोलिपल्ट अध्यक्ष/महाप्रबन्धक ममता झालाई धन्यवाद दिएँ। विशेष धन्यवाद। कारण उनले धेरै परिश्रमसाथ काम गराएर मेरो हातमा त्यही दिन पुस्तक राखिदिएकी थिइन् । जुन मेरो इच्छित दिन थियो।
अनि त्यो इच्छित दिन कुन थियो? यो पनि बताइदिउँ त्यो दिन थियो १ जनवरी, सन् २०१२।
– रामेश्वर राउत 'मातृदास'
बीस वर्षका उमेरमा
गोरखा राज्यका अभिभारा काँधमा बोक्याँ
जता हेर्योँ उतै लड्याका,
भत्क्याका दारुण अवस्था देख्याँ
टुक्राटाक्री सबैलाई जोडजाम गर्न्या
र सुन्दर शान्त विशाल देश बनाउन्याँ
एक सपना देख्याँ
।।१।।
गोरखनाथ बाबाको आशीर्वाद
औ गजवीर–भाइभारदार र दुनियाँदारको
सद्भाव बटुल्याँ,
र, जीवनभर यही देश बनाउन्याँ
अभिछिन्न अभियानमा जुट्याँ
।।२।।
कीर्तिपुर युद्धमा भाइ दलमर्दन
काजी कालु पाण्डे मर्याल,
शूरप्रतापका आँखा फुटाया
मेरा कालगति रह्याछ र बहुत मुस्किलले बच्याँ –;
।।३।।
यो देश उसबखतका दुनियाँदार
गजवीर–भाइभारदार औ मेरा जीवनभरका
त्याग/तपस्या र बलिदानका परिणाम हो भन्या
छोटा/बडा सबैका चेतना भन्याँ
नभन्यर्ाँता भारी अपराध लाग्न्याँ
।।४।।
उम्य्राका–खुम्य्राका आज सबका सब भाषण छाँटन्याँ
काभन्दा कौन्याँ केही नगन्याँ
उद्योग कलकारखाना भत्काउन्याँ/लडौन्याँ–डढाउन्याँ
देश भत्काउन्याँ र बाँड्न्याँ हल्ला चुटन्याँ
बाँड्न्याँता बाँड्न्याँ–कसका देश बाँड्न्याँ?
क्या –; तम्रा–हाम्रा खप्पर बाँड्न्याँ?
पुस्तक च्यात्न्याँ/पुल भत्काउन्याँ
थोत्रा क्रान्तिका भ्रान्ति फैलाउन्याँ
क्या –; यही कुकर्मका उन्नति मान्याँ?
।।५।।
आफ्नो देशको धर्म–भाषा–भेष
कला–साहित्य र संस्कृति नाशन्याँ,
परचक्रीलाई पोसन्या/स्वदेशको टाट उल्टाउन्याँ
दुनियाँदारको लडौन्याँ/अकालमा मान्याँ
पराईको रिसवत लिन्याँ–खान्याँ
नेपाल–नेपालको सर्वनाश र घरङघाट पान्याँ
अनि क्या –; यही दिवालिया तालले
नयाँ नेपाल बन्याँ–बनाउन्याँ?
।।६।।
वर्तमानका यी सबै विडम्बना देख्याँका
गण्डकी कोसीझैं यसैत्यसै मन रुन्याँ
पृथ्वीनारायणका शोषक भन्याँ,
सामन्त/विस्तारवादी मान्याँ
देश र दुनियाँका खातिर कौन्याँ केही नगन्याँ
मलाई भलिभाँती गालीगलौज
अपमान गन्याँ त गन्याँ
बुद्धि–विवेकका आँखा घैंटामा खाँदन्याँता म क्यागन्यर्ाँ
तम्रा– हाम्रा विगत र वर्तमान छर्लङ्ग हुन्याँ
बड्ता क्या –; भन्याँ!
।।७।।
देश सबैको साझा फूलबारी मान्याँ
नेपाल र नेपालीको कल्याण यसैमा हुन्याँ
बूढा मर्याा भाषा सर्यास,
आखेट बाँड्न्याँझैं जाति–जातिका नाममा
मुलुक नबाँड्न्याँ
मूर्खतापूर्ण भूल गर्न्याता एकमुष्ट सर्वनाश हुन्याँ
उद्यम् गर्न्या उद्यम्, वृहस्पति जान्याँ
मङ्गलग्रह पहिल्याउन्याँ,
नेपाल–नेपालीको यश र कीर्ति
संसारभर फैलाउन्याँ
बुद्धिमानी यसैमा हुन्याँ,
भक्कुको राँगोझैं
चण्ड/मुण्ड र उद्दण्ड नहुन्याँ
हुन्याँ त हुन्याँ/आफैं गुल्टन्याँ देश पल्टन्याँ
।।८।।
समयले सबैको लेखाजोखा राख्न्याँ
नाफा/नोक्सान तौलीतौली भन्याँ
नयाँ नेपाल/सयाँ नेपालका बकबास छाड्न्याँ
भएका नेपालका बेहाल र बर्बाद नपान्य
संसारमै नहुन्याँ नयाँ नेपाल कहाँ खोज्न्याँ?
भ्रम पाल्न्याँ र भ्रम फैलाउन्याँता
देश र दुनियाँका वैरी हुन्याँ
कुरा बुझ्न्याँ कुरा,
सबै जातको फूलबारी हो नेपाल
सबैलाई सधैं चेतना भया!
We have 119 guests and no members online