Weekly Nepal

ओलम्पिकमा प्रधान र जीवनरामको बल मिच्याइ

काठमाडौं। नेपाल ओलम्पिक कमिटीलाई म्यान पावर कम्पनीका रूपमा प्रयोग गरिरहेका त्यसका अध्यक्ष ध्रुबबहादुर प्रधान र एमालेका नेताका रूपमा परिचित महासचिव जीवनराम श्रेष्ठको बल मिच्याइले सीमा नाघेको छ। सर्वोच्च अदालतको आदेशसमेतको अवज्ञा गरेर अहिले प्रधान र श्रेष्ठसहितको समूहले नेपालमा गैरकानुनी काम गरिरहेको चर्चा सर्वत्र चलेको छ। यो समूहले आगामी जुनमा लन्डनमा हुने ओलम्पिक्स खेलका लागिी आफ्ना नजिकका हितैषी व्यक्तिहरू जम्मा गरेर त्यहाँ पठाउने तयारी गरिरहेको खुलासा भएको छ। जुनमा हुने लन्डन ओलम्पिक्सका लागि जीवनराम र प्रधानसहितको समूहले खेलाडीहरूको पनि छनौट प्रक्रिया नै पूरा नगरी मनलागी ढङ्गबाट नाम पठाएपछि यसले खेल क्षेत्रमा ठूलो विवाद सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता भन्दै यो समूहले यस्तो क्रियाकलाप गरिरहेको छ।  

यो कमिटीलाई गत वर्ष नै सर्वोच्च अदालतले अवैधानिक ठहर गरिसकेको थियो। प्रधानसहितको समूहले पुनरावलोकनका लागि दिएको निवदेन पनि सर्वोच्च अदालतले अवैधानिक ठहर गरिसकेको थियो। तर, यति भइसक्दा पनि जेल जानुपर्ने व्यक्तिहरू विभिन्न कार्यक्रममा मन्त्री र राज्यका प्रमुख व्यक्तिहरूको उपस्थितिमा अग्रपंक्तिमा बस्नुले राज्यमा कतै कानुनै छैन भन्ने आशंका उत्पन्न भएको छ। सर्वोच्च अदालतले रुक्म शमशेर राणा अध्यक्ष रहेको कमिटीलाई वैध ठहर गरिसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदले अवैधानिक कमिटीलाई बोकेर हिँड्नुको पछाडि ठूलो आर्थिक चलखेल भएको हुनसक्ने अनुमान गरिएको छ।  

अदालतले अवैधानिक ठहर गरेकै कारण प्रधान समूहले चलाउँदै आएको बैंक खातासमेत गत वर्षदेखि रोकिएको छ। खाता सञ्चालन गर्न अवैधानिक भएको टिम अन्य काम गर्न कसरी वैधानिक भयो? यसको खोजी हुनु जरुरी भएको खेल विश्लेषकहरू बताउँछन्। राष्ट्रिय खेलकुद परिषदका वर्तमान सदस्यसचिव युवराज लामाले राम्रो आर्थिक लाभ पाएकै कारण ध्रुबबहादुर प्रधान र जीवनराम श्रेष्ठ समूह अहिले ठाँटसँग अध्यक्ष र महासचिवका बिल्ला लगाएर घुमिरहेका छन्। यति मात्रै होइन, छैटौं राष्ट्रिय खेलकुदको अनुगमन गर्ने जिम्मासमेत अवैधानिक प्रधान समूहले हात पारेको छ। त्यसैकारण त अहिले प्रधान र लामा कुममा कुम जोडेर सुदूरपश्चिम पुगेका छन्। प्रधानलाई समेत राष्ट्रिय खेलकुद परिषदले हवाई टिकट उपलब्ध गराएको छ। सर्वोच्चले अवैधानिक ठहर गरेको प्रधान नेतृत्वको ओलम्पिक कमिटीको कार्यालयमा तोडफोड र तालाबन्दी गर्न पुगेका एक समूहलाई समेत त्यतिबेला प्रधान समूहले तपाईंहरूको माग नगदमा भन्नुस् भनेको चर्चा चलेको थियो। यसको अर्थ प्रधानहरूको जोड ओलम्पिकमा बसिरहनु खोज्नु किन हो भन्ने पुष्टि भएको छ। विदेशबाट आउने सुविधा, विदेश प्रशिक्षण र अध्ययनका अवसरलगायतमा मोटो रकम दिएर वैधानिक तवरबाट मानिसहरूलाई विदेश पठाउने काम प्रधान ओलम्पिक कमिटीको दैनिकी नै हो। अष्ट्रियामा केही महिना पहिलो सम्पन्न विन्टर युथ ओलम्पिक्स होस् वा सन् २०१० को भ्यान्कुवर विन्टर ओलम्पिक्स नै किन नहोस्, यी सबैमा ध्रुवबहादुर प्रधान र जीवनराम श्रेष्ठले दर्जनौं म्यानपावर सप्लाइ गरिसकेको बताइन्छ। त्यति नै बेला गएका दुईजना खेल पत्रकार पनि अहिलेसम्म नेपाल फर्किएका छैनन्। वर्षेनी खेलाडी र खेल अधिकारीका नाममा आउने गरेका प्रशिक्षणका कोटामा समेत यो टोलीले बार्गेनिङ गरेर मानिस सप्लाई गर्ने गरेको आरोप खेप्दै आएको छ।  

एमाले नेता तथा राखेपका पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठ पनि विदेश र पैसाको मामिलामा प्रधानभन्दा कम नभएको बताइन्छ। यसको सबैभन्दा पछिल्लो उदाहरण बनेका छन् बास्केटबल खेलका एकजना प्रशिक्षक। केही महिना पहिले विशेष प्रशिक्षणका लागि भनेर अमेरिका पुगेका ती प्रशिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन। अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा अमेरिकी सरकारले त्यो विशेष अवसर नेपाललाई प्रदान गरेको थियो। यस्तो अवसरलाई पनि यी तीन जनाले म्यानपावर सप्लाई गर्ने माध्यम बनाएपछि अब नेपाली खेल क्षेत्रको भविष्य कस्तो होला? तपाईंहरू आफैं कल्पना गर्नुस्। यदि ती प्रशिक्षक मोटो मोलको शिकार नभइदिएको भए आज नेपालले अवसरहरू गुमाउनुपर्ने थिएन। यो घटनाले गर्दा अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीले आगामी दिनमा नेपाललाई कुनै पनि छात्रवृत्ति नदिने सम्भावना बढेको छ। यता राज्यभित्र पनि अवैधानिक ठहर भइसकेका कारणले गर्दा र विदेशी मुद्रा अपचलनलगायतका विषय उठाएर ध्रुवबहादुर प्रधान र जीवनराम श्रेष्ठसहित कथित ओलम्पिक कमिटीका सदस्यहरूविरुद्ध अर्को फौजदारी अभियोग लगाउने तयारी एक समूहले गरिरहेको छ। यसमा काण्डमा अहिले ब्रिटिस दूतावास पुगेर लाइन लागेर फर्म भर्ने वर्तमान सदस्यसचिव युवराज लामासहितको सबै टोली पनि पर्नसक्ने अनुमान खेल विश्लेषकहरूको छ। 

जिल्ला बिलियर्ड तथा स्कुनर छनोट प्रतियोगितामा आठ खेलाडी छानिए

काठमाडौं, फागुन ७ । काठमाडौं जिल्ला बिलियर्ड तथा स्कुनर छनोट प्रतियोगिताबाट आठ खेलाडी छैटौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन्।
 
शनिबार छनोट हुने खेलाडीहरूमा टासी शेर्पा, सञ्जयकुमार मुल्मी, समिरराज लावत, श्याम खड्गी, राजन लामा, सनातन मल्ल, जयराम बलामी तथा सरोजकुमार मुल्मी रहेका छन्।
 
छैटौंको बिलियर्ड तथा स्नुकर लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

राष्ट्रिय खेलमा सेनाको सहभागिता अन्यौलमा

काठमाडौं, फागुन ६ । सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा १४ गते देखि २१ गते सम्म हुने बृहत छैटौं राष्ट्रिय खेलकुद सुरु हुन अब जम्मा ९ दिन मात्र बाँकी छ। सुदूरपश्चिममा नै हुने भनिएको यस अघिको पाँचौं राष्ट्रिय खेलकुद अन्तिममा आएर त्यस बेला सुरक्षा र भौतिक पूर्वाधारको कारण देखाउदै स्थगित भएको थियो। पछि आएर पाँचौं राष्ट्रिय खेलकुद काठमाडौंमा आयोजना गरियो। राज्यले जहिले पनि विकटका क्षेत्रकालाई त्यति महत्व नदिदा त्यहाँ हुनु पर्ने भौतिक पूर्वाधार नहुनु पनि स्वभाविकै हो। तर यस पटक भने राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिममा नै राष्ट्रिय खेलकुद आयोजना गर्ने भन्दै व्यावकरुपमा प्रचार गरेको छ। त्यसको लागि रकम निकासा गर्न पनि सफल भएको छ। राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तथा खेलकुद मन्त्रालय सम्हाल्ने पदाधिकारीहरु त्यहाँको निरिक्षणको लागि भन्दै लाखौं रकम खर्च पनि गरिसकेको छन्। तर सुदूरपश्चिमले यसपटक जति चर्चा र रकम पाएको छ त्यस अनुसार भौतिक पूर्वाधार निर्माण र अन्यकुरामा पुर्णता भने पाएको देखिदैन। राष्ट्रिय खेलकुद आयोजना हुन जम्मा जम्मी एक सातामात्र बाँकी रहदा सम्म राखेपले खेल तालिका पनि सार्वजनिक गर्न सकेको छैन। भने विभिन्न विकास क्षेत्रबाट भागलिने खेलाडीहरुको छनौट पनि पुरा गर्न सकेको देखिदैन। विभिन्न खेलका लागि बनाइएका भौतिक पूर्वाधारहरु पनि कामचलाउ पारले बनाइएका छन्। ति पूर्वाधारहरु न त पछि सम्म काम लाग्ने खालका छन् न त तत्कालै प्रयोग गर्न सकिने खालका छन्। भौतिक पूर्वाधारहरु निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको आशंका त्यस क्षेत्रका विशुद्ध खेलप्रति आस्थावान स्थानीयबासीहरुले गरेका छन्। 


खेलकुद भनेको राष्ट्र चिनाउने एक प्रमुख चिनारी हो। त्यसका लागि देशका हरेक कुना काप्चाका खेलाडीहरुको प्रतिस्पर्धा गराएर उत्कृष्ट खेलाडीहरुको छनोट गरी राष्ट्रिय खेलमेलामा सहभागी हुने गर्छन्। तर माओवादी कोटाबाट चलचित्र क्षेत्रका युवराज लामालाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव बनाइएपछि उनले खेलकुदलाई पनि चलचित्रमा देखाइने काल्पनिक कथा जस्तै बनाएर छैटौं राष्ट्रिय खेलकुद मेलामा त्यस्तै खलाडीहरुको भिडन्त गराउने भएका छन्। उनी सदस्य सचिव भएपछि धरै जसो जिल्ला खेलकुद विकास समितिका अध्यक्षमा आफ्ना कार्यकर्ता भर्ती गरेपछि जिल्लाबाट पनि माओवादी समर्थित खेलाडीहरुको छनोट गरेर वास्तविक खेलाडीको खेल जीवनलाई अन्धकार तिर धकेलेर करोडौंको घोटाला गर्न सफल भएका छन्। खेलकुद क्षेत्रमा यस्ता खालका काल्पनिक काम हुनु भनेको खेलक्षेत्रलाई एक कदम पछाडि धकेल्नु नै हो। 


यस्तै हरेक भाषणमा राजनीतिबाट आफु टाढा रहेको बताउने राखेप सदस्यसचिव लामा वास्तविक रुपमा भने उनी राजनीतिक खेलाडी र नुनको सोझो गर्नमा माहिर देखिएका छन्। यसको पछिल्लो उदाहरण हो, समायोनको क्रममा रहेको माओवादी सेनाको पिएलए स्पोर्टस् क्लवलाई छुट्टै विभागीय टिमको मान्यता दिदै राष्ट्रिय खेलकुदमा सहभागी गराउनु। यसबाट के प्रष्ट हुन्छ भने उनी राजनीतिबाट टाढा छैनन्। आफ्नो पदको रक्षाका लागि उनी जे पनि गर्न सक्छन् भन्ने प्रष्ट देखिएको छ। माओवादी सेनाको पिएलए स्पोर्टस्को सहभागीतालाई लिएर नेपाली सेनाले आफ्नो विभागीय टिम त्रिभुवन आर्मी क्लव छैटौं राष्ट्रिय खेलकुदमा सहभागी हुन नसक्ने समेत घोषणा गरिसकेको छ। तर सहभागी हुनु नहुनु आ–आफ्नो आन्तरिक कुरा भए पनि नेपाली सेनाको  विभागीय क्लब भित्र रहेको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको भविष्य भने धरापमा पर्ने देखिएको छ। छैटौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट भएका खेलाडीहरुले नै आसन्न भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुदमा भाग लिन पाउने प्रावधान रहेकाले त्रिभुवन आर्मी क्लब भित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतियोगितामा सहभागी हुन नपाउदा उनीहरुको स्थानमा सफल हुने खेलाडीहरुले भारतमा गएर कस्तो नतिजा ल्याउलान् त्यो त सहजै अनुमान गर्न सकिन्छ। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका दावेदार रहेका त्रिभुवन आर्मी क्लवका खेलाडीहरु अहिले ओझेलमा परेका छन्। यसले गर्दा भारतमा हुने दक्षिण एसियाली खेलकुदमा नेपालको स्थान अझै तल  हुने अनुमान पनि गर्न थालिएको छ। 


नेपाली सेनाले भाग नलिने  निर्णय गरेपछि सदस्यसचिवले छैटौं राष्ट्रिय खेलकुदलाई १२  औं दक्षिण एसियाली खेलकुदको छनौंटका रुपमा व्याख्या गर्दै छैटौं राष्ट्रिय खेलकुदमा सहभागी नहुनेले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने बताएका थिए। तर फुटबलका राष्ट्रिय खेलाडी पनि छैटौं राष्ट्रिय खेलकुदमा अनुपस्थिती हुने भएका छन्। फुटबल टोली राष्ट्रिय खेलकुद लगत्तै काठमाडौंमा हुने एएफसी च्यालेन्ज कपको बन्द प्रशिक्षणमा छन्। एएफसी च्यालेन्जकपका कारण फुटबल टोलीलाई घरेलु प्रतियोगितामा पनि खेल्न दिइएको छैन। यस्तै क्रिकेटका खेलाडी अर्को महिना संयुक्त यु.ए.ई मा हुने विश्व ट्वान्टी–२० कपको छनोटका लागि बन्द प्रशिक्षण तथा तयारी गर्न भारत भ्रमणमा रहेका कारण क्षेत्रीय छनोटमा सहभागी भएका छैनन्। तर क्षेत्रीय छनोटमा नै सहभागी नभएका क्रिकेट खेलाडीलाई छैटौं राष्ट्रिय खेलकुदमा भने सहभागीता जनाउन पाउने भएका छन्।  राष्ट्रिय खेलकुद जस्तो प्रतियोगितामा यस्ता दोधारे र मनपरी नीतिले नेपाली सेनाका खेलाडीहरु भने अन्यौलमा परेका छन्। नेपाली सेनाका खेलाडीहरुको बारेमा भने राखेपले अहिले सम्म पनि छैटौं राष्ट्रिय खेलकुदमा सहभागी नभए अन्तर्राष्ट्रिय खेलकुदमा पनि सहभागी हुन नपाउने आफ्नो अडान कायम राखेको छ। राखेपले नेपाली सेनालाई राष्ट्रिय खेलकुदमा सहभागी हुन औपचारिक रुपमा पत्राचार गरिसकेको तर सेनाबाट कुनै पनि प्रतिक्रिया नआएको बताएको छ। छैटौं राष्ट्रिय खेलकुदमा राखेपले विभागीय टोलीका खेलाडी र सोझै सहभागी हुन पाउने खेलका खेलाडीहरुको संख्या तोके पनि अहिले सम्मको खेलको तालिका र टाइसिट सार्वजनिक गर्न सकेको छैन। हतार हतारमा राष्ट्रिय खेलकुद हुन केही समयमा मात्र बाँकी रहँदा गरिएका जिल्ला र क्षेत्रका प्रतियोगिता धमाधम भइरहेको जानकारी दिएको छ। तर राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरु आफ्ना खेलमा प्रतिस्पर्धा गर्नु अघि प्रशिक्षणको मौका पाउने अवस्था भने देखिदैन। यदि तोकिएको समयमा नै राष्ट्रिय खेलकुद संचालन भएमा छनोट भएका खेलाडीहरु सोझै राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन्। यस्तो खालको लतपते राष्ट्रिय खेलकुद प्रतियोगिताले कस्ता खेलाडी जन्माउला त्यो त आगामी अन्तर्राष्ट्रिय खेदकुदमा नेपालको सहभागीता पछि आउने नतिजाले नै बताउनेछ। 


-विजय सिंह

नेकोस राष्ट्रव्यापी बुद्धिचाल जारी

काठमाडौं, फागुन ७ । फिडेमास्टर (राष्ट्रिय रेफ्रि) मनिष हमालले भक्तपुरका भेट्रान खेलाडी गणेशमान दुवाललाई आज पराजित गरेपछि नेकोस राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ।
 
आफ्नो अपराजित यात्रालाई जारी राख्ने क्रममा मनिषले शनिबार भएको दशौं चरणको खेलमा सनसनीपूर्ण जित दर्ता गरे। सेतो गोटीबाट कारोकान डिफेन्स खेलेका हमाललाई  दुवालले ६९ औं चालमा खेल सुम्पिए। उनको जितसँगै प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ।
 
अर्को खेलमा ललितपुरका युवा खेलाडी राजन पुरीले पूर्व नेपाल च्याम्पियन फिडेमास्टर विलमलाल श्रेष्ठलाई पराजित गरे। 
 
कालो गोटीबाट खेलेका राजनले पेट्रोभबाट सुरु गरेको खेल विलमलालले फोर नाइट्समा रुपान्तरण गरेपछि मौकाको फाइदा उठाउँदै ४६ औं चालमा विजय हात पारे। 
 
तेस्रो बोर्डमा भएको अर्को खेलमा झापाका निरज निरौलाले काठमाडौँका भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए। त्यस्तै चौथो बोर्डमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले काभ्रेका युवा खेलाडी मदनकृष्ण कायस्थलाई पराजित गरे। 
 
दश चरणको समाप्तिपछि मनिष, गणेशमान, राजन, निरज तथा नविनको समान ८ अङ्क भएको छ। 
 
पूर्व नेपाल च्याम्पियन सुरवीर लामा कैलालीका दीर्घराज जोशीलाई पराजित गर्दै ७ दशमलब ५ अङ्क हात पार्न सफल रहे। 
 
 
 
 हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु ५० हजार तथा  उपविजेताले रु ३० हजार प्राप्त गर्नेछन्। 

महिला क्रिकेटरहरुलाई नगदसहित सम्मान गरियो

काठमाडौ, फागुन १ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा ह्याटि्रक गर्न सफल नेपाली महिला क्रिकेटरहरुलाई सम्मानित गरेको छ । 

सम्मानित हुने खेलाडीमा कप्तान रुविना क्षेत्री, उपकप्तान कविता गौतम, प्रतीक्षा बस्याल, श्रद्धा अर्याल, आरति बिडारी, द्रोपती कुँवर, शिलु रिजाल, संगिता गौचन, सरस्वती चौधरी, सन्तोषी चौधरी, अनुराधा चौधरी, ममता चौधरी र सोनु खड्का छन् । त्यसैगरी टिमका प्रशिक्षक नवीन सिंह, व्यवस्थापक केशव घिमिरे, फिजियो जानकीदेवी भट्टलाई सम्मान पनि सम्मान गरिएको थियो ।

सबैलाई २०/२० हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो । नेपालले शुक्रबार कुवेतमा सम्पन्न एसीसी यू-१९ वुमेन्स च्याम्पियनसिपको फाइनलमा थाइल्यान्डलाई ६ विकेटले हराउँदै तेस्रोपल्ट उपाधि जितेको थियो । चौधरी ग्रुपले टिमलाई ५१ हजार रुपैयाँ दिंदै सम्मान गर्‍यो ।

उक्त अबसरमा खेलकुदमन्त्री कमला रोकाले नेपाली किशोरीले चमत्कारी क्रिकेट खेलेको बताइन् । 'सरकारबाटको सम्मानका लागि क्याबिनेटमा प्रस्ताव राख्नेछु,' मन्त्री रोकाले भनिन् ।

अघिल्लो संस्करणको विजेता खेलाडीलाई सरकारले १/१ लाख रुपैयाँ दिएको थियो । क्यान अध्यक्ष आङबुहाङले खेलाडीले यो पल्ट इतिहास कोरेकाले सरकारले पहिलेको भन्दा दोब्बर रकम दिएर खेलाडीलाई सम्मान गर्न पहल गर्ने बताए ।

 

Weekly Video

Life&style

Women

We have 165 guests and no members online