Weekly Nepal

सिरिया कमजोर हुँदै

दमास्कस, फागुन १० । एक प्रतिष्ठित व्यवसायीले विदेशी प्रतिबन्धका कारण सिरियाको अर्थव्यवस्था कमजोर भइरहेको गुनासो गरेका छन्। सिरियाका पूर्वराष्ट्रपतिका छोरा फैसल अल कुदसीले राष्ट्रपति बसर अल असदको सरकार अब बढीमा ६ महिना टिक्न सक्ने बताए। उनले भने, 'प्रदर्शनकारीविरूद्ध हुने सैन्य कार्वाही ६ महिनासम्म मात्र हुन सक्छ। सुरक्षाकर्मी निकै थाकिसकेका छन् र अब उनीहरू कतै जान चाहँदैनन्। त्यसैले हत्याहिंसा त्यागेर वार्ता गर्नुको विकल्प छैन।'


फैसलका अनुसार सिरियाको तेल निर्यातमा प्रतिबन्ध लागेको कारण कुल ग्राहस्थ्य उत्पादनमा नराम्रो असर परेको छ। त्यस्तै पर्यटन क्षेत्र बिग्रिएकोले पनि अर्थव्यवस्था कमजोर भएको उनले बताए। उनले सिरियाको घरेलु उत्पादनमा ४५ प्रतिशतले कमी आएको बताए।


सिरिया सरकारले इरानबाट सहयोग पाइरहेको जानकारी उनले दिए तर त्यो  सहयोग अपुग रहेको उनको भनाई छ। उनले सिरियाका व्यवसायीवर्ग राष्ट्रपति असदको समर्थनमा नरहेको पनि स्पष्ट गरे। सिरियामा थप ६ महिना मुलुकको अवस्था यस्तै द्वन्द्वग्रस्त र कमजोर रहने हो भने लाखौं मानिस सडकमा हुने उनले बताए। राष्ट्रपति असदविरूद्ध गत वर्षको मार्च महिनादेखि आन्दोलन भइरहेको छ। यो ११ महिनामा सात हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको दाबी मानवअधिकारकर्मी बताउँछन्। तर, राष्ट्रपति असदले अहिले पनि अन्त्यसम्म लडाइँ लडिरहने अडान लिँदै आएका छन्।


सरकारले भने सशस्त्र आतंकवादीसँगको लडाइँमा करिब दुई हजार सुरक्षाकर्मीको मृत्यु भएको दाबी भएको छ। सिरियामा रहेका प्रख्यात व्यवसायीले  राष्ट्रपति असदको सत्ता आर्थिक प्रतिबन्धको कारण पल्टिने आशंकसा गरेका छन्।  आर्थिक नोक्सानीले राजनीतिमा असर गरिरहेको विश्लेषक बताउँछन्।
फैसल अल कुदसीको सम्बन्ध यस्तो परिवारसँग रहेको छ जसको लामो राजनीति इतिहास रहेको छ। त्यसैले उनको कुरालाई गम्भीर रूपमा लिनुपर्ने बीबीसी संवाददाता बताउँछन्। फैसल अहिले लण्डनको एक बैंकिङ संस्थाका प्रमुख हुन्। उनले विशेष गरेर सिरियाको निजी क्षेत्रमा हुने लगानीको लागि महत्वपूर्ण काम गर्दै आएका छन्। 


सिरिया सरकारविरोधी नेताहरूका अनुसार शनिबार राजधानी दमास्कसमा अन्त्येष्टीका लागि भेला भएका मानिसमाथि सेनाले गोलाबारी गर्दा एकजनाको मृत्यु भएको छ। गोलाबारीमा अन्य कैयौं घाइते भउको बताइएको छ। शुक्रबार सरकारविरोधी प्रदर्शनमा सेनाको गोलाबारीमा मृत्यु भएकाहरूको अन्तिम संस्कार भइरहेको समयमा हिंसा मच्चेको थियो। त्यति बेला अन्त्येष्टीमा आएका हजारौं मानिसले राष्ट्रपति असदको विरोधमा नाराबाजी गरेपछि सुरक्षाकर्मीले गोलाबारी गरेको जानकारीमा आएको छ। त्यस्तै आइतबार पनि होम्स शहरमा गोलाबारी भइरहेको जानकारी प्रदर्शनकारीले दिए।


यसैबीच सिरियाको सरकारी समाचार एजेन्सी सानाले पश्चिमोत्तर सिरियामा एक न्यायाधीश र एक सरकारी वकिल मारिएका छन्। इदलिब शहरमा हतियारधारी आतंककारी समूहले उनीहरू चढेको गाडीमा गोलाबारी गरी हत्या गरेको जानकारी अधिकारीले दिए। शनिबार मात्र चीनले सिरियाका राष्ट्रपति बसर अल असदको जनमतसंग्रह गर्ने योजनाको समर्थन गरेको छ। सिरिया सरकारले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा चीनले असदद्वारा अगाडि सारिएका जनमतसंग्रह र बहुदलीय निर्वाचनको योजनालाई समर्थन गर्ने स्पष्ट गरेको छ।


चीनका उपविदेशमन्त्री जाइ जुनले राष्ट्रपति असदसँग भेटवार्ता गरेपछि ११ महिनादेखि भइरहेको द्वन्द्व अन्त्य गर्न सबै पक्षलाई आग्रह गरे। असदले गत बुधबार फेब्रुअरी २६ मा जनमतसंग्रह गर्ने र त्यसपछि बहुदलीय निर्वाचन गर्ने घोषणा गरेका थिए। तर सिरियाका विपक्षी तथा अमेरिकालागयत पश्चिममा मुलुकले यो प्रस्तावको विरोध गरेका थिए। –एएफपी

Weekly Video

We have 249 guests and no members online