(केन्द्रीय सदस्य तथा सभासद्, एनेकपा माओवादी)
० माननीज्यू, तपाईं माधवकुमार नेपालजस्ता नेतालाई चुनाव हराइदिने व्यक्ति, कसरी पराजित तुल्याउनुभयो नेपाललाई?
– आजभन्दा चार वर्षअघि सम्पन्न संविधानसभाको निर्वाचनमा माधव नेपाल मसँग हारेकै हुन्। मैले हराएकोभन्दा पनि जनताले पराजित तुल्याइदिएका भन्नु उचित होला।
० त्यसपछि त तपाईं आफैं हराउनुभयो नि!
– एनेकपा माओवादी केन्द्रीय समितिको सदस्य भए पनि म पार्टीको माथिल्लो पङ्क्तिको नेता होइन। दलीय व्यवस्थामा पार्टीका वरिष्ठ नेताहरू नै बढी चर्चामा आउँछन्। अर्को कुरा चर्चामा आउने/नआउने व्यक्तिको स्वभावमा पनि भरपर्छ। व्यक्तिगत रूपमा चर्चामा आउन खोज्ने व्यक्ति म परिनँ। कुनै बेला रोल्पा जिविसको सभापति छँदा मेरा क्रियाकलाप र पार्टीका गतिविधिले पनि मलाई चर्चामा ल्याउँथ्यो। काठमाडौंबाट निर्वाचन जितेपछि अलिक व्यस्तता पनि बढेकोले सञ्चारमाध्यमका मित्रहरूले चाहँदाचाहँदै पनि मैले नै समय दिन भ्याइनँ भन्नुपर्यो।
० रोल्पामा सभापति हुनु भो, काठमाडौंमा सभासद हुनु भो। यी दुई ठाउँको मानिस र चरित्रगत भिन्नतामा के फरक पाउनुभएको छ तपार्इंले?
– रोल्पामा म सभापति हुँदा काङ्गे्रसको सरकार थियो, देशभर नेपाली काङ्गे्रस पार्टीको बोलवाला थियो। तथापि रोल्पामै चाहिँ हामै्र पार्टीको प्रभाव राम्रो थियो। त्यहाँका जनसमुदाय असाध्य गरिब र दुःखी छन्। त्यहाँ सबै मानिस २४ घण्टामा १८ घण्टा काममा खट्छन्। त्यहाँ धनी र गरिबका बीचमा त्यति विभेद छैन। त्यहाँको जीवनस्तर एकै प्रकारको छ। त्यहाँका जनताले राज्यबाट धेरै ठूलो आशा पनि गर्दैनन्, जब कि बढी आशा गर्नुपर्ने त्यहीँबाट हो। काठमाडौंमा मैले चुनाव जितेँ, तर रोल्पामा गरिब जनताले मात्रै भोट दिँदा पनि चुनाव जितिन्छ भने काठमाडौं त यस्तो ठाउँ छ– देशभरका मध्यमवर्गको उपस्थिति यहाँ छ। यहाँका गरिब जनसमुदायले मात्र भोट दिएर विजयी बन्न सकिन्न। अर्थात् यहाँ मध्यमवर्गको मन जित्न नसके चुनाव जित्न सकिन्न भन्ने बुझेको छु मैले।
० मध्यमवर्गको मन कति जितेजस्तो लाग्छ त?
– जनताको आशा धेरै छ। हामै्र पार्टीले पनि विगतमा धेरै आशा र सपनाहरू बाँडेको छ। जनताले आशा गर्नु, सपना देख्नु स्वाभाविक पनि छ। यतिबेला त हामै्र पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार भएकोले सो पार्टीको एउटा क्याडर सभासद् पनि भएको नाताले मसँग यहाँका जनताले आशा राख्नु अस्वाभाविक र अप्रासङ्गिक पनि हुँदैन। तर, म व्यक्तिगत रूपले त पावरमा छैन, मन्त्री–प्रधानमन्त्रीलाई गुहारेर आफूले सक्दो गर्ने हो। जनसमुदायलाई यसबारे राम्रो जानकारी पनि छ कि म हरदम खटिरहेकै हुन्छ जनताकै काममा। तर, जनताका लागि जति काम गर्नुपर्ने हो त्यति गर्न सकिएको छैन– भएको छैन भन्ने हामी सबैले अनुभूति गरिरहेकै छौँ।
० तपाईंलाई काम गर्न सजिलोचाहिँ रोल्पामा लाग्यो कि काठमाडौंमा?
– जनतासँग परिचित र घुलमिल हुँदै जाँदा सबै ठाउँमा सहज नै हुन्छ। म रोल्पामा जन्मिएँ, हुर्किएँ, त्यहीँ पढेँ, पढाएँ र त्यहीँबाट राजनीतिमा सहभागी पनि भएँ। त्यसकारण त्यहाँ सबैले मलाई चिन्नुहुन्छ। तर, काठमाडौंमा त त्यस्तो परिवेश रहेन मेरा लागि। १० वर्ष युद्ध लडेर आएको मलाई यहाँ सञ्चारमाध्यमले पनि बिर्सिसकेका थिए जस्तो लाग्छ, यहाँको जनसमुदायमा म परिचित थिइनँ। तर, जब म माधव नेपालजीसँग काठमाडौं–२ नम्बर क्षेत्रमा चुनाव लडेर विजयी बनेँ त्यसले मलाई चिनिन सहज बनायो। माधवजी स्वयम्ले मसँग भनुभयो कि 'झक्कुजी, हाम्रो पार्टीको २४० स्थानमध्ये सबभन्दा बलियो ठानिएको स्थानमै म पराजित भएँ, आफ्नै जिल्लाबाट हार्दा पनि मलाई बरु पीडा भएको थिएन जति पीडा तपाईंले यहाँ जितिदिँदा भएको छ...।' यसरी मजस्तो नयाँ मान्छेलाई यहाँका जनताले विजयको माला पहिर्याइदिएबाट म उत्साहित नहुने कुरै भए। अहिले बितेको चार वर्षमा त यहाँ पनि बच्चाबच्चाले समेत मलाई 'झक्कु सुवेदी' भनेर चिन्न थालेका छन्।
० हो, तपाईंको नाम नै सुनेपछि नबिर्सिने प्रकारको छ। भनिदिनोस् न 145झक्कुप्रसाद146 भन्ने नाम तपाईंलाई कसले दियो?
– मेरा थुपै्र साथीले आफ्नो नाम परिवर्तन गरे, तर मेरो यस्तो परिवेश बन्यो कि न मलाई कसैले नाम बदल्न भने न मलाई नै त्यो सोच आयो। वास्तवमा मेरो नामको अर्थ के लाग्छ भन्ने पनि मलाई थाहा छैन। कसरी यो नामकरण भयो भन्ने सवालमा चाहिँ मैले यसरी बुझेको छु कि दाङमा ०७ सालतिर नेपाली काङ्गे्रसका एकजना नेता रहेछन् झक्कुप्रसाद भन्ने। मेरा एक हजुरबुबा पर्ने व्यक्ति पनि कांग्रेसकै चल्तापुर्जा हुनुहुन्थ्यो षडानन्द सुवेदी नामका। सायद उहाँले उनै काङ्गे्रसी नेता झक्कुप्रसादको प्रभावका कारण मेरो न्वारानको नाम नै त्यस्तो जुराइदिनुभएको हो कि? यो नाम न्वारानकै हो र त्यही नाम प्रचलनमा समेत कायम रह्यो।
० यो नामप्रति तपाईं गौरवान्वित नै हुनुहुन्छ त्यसो भए?
– नाम जे भए पनि प्रमुख कुरा होइन काम नै प्रमुख हो। त्यसैले मलाई मेरो नामले केही नराम्रो लागेको छैन।
० तपाईंको आजको व्यक्तित्व निर्माण हुनुमा यो नामको कति प्रतिशत योगदान होला भन्ने सोच आउँछ तपाईंमा?
– खै त्यस्तो त लाग्दैन। सानैदेखि म सङ्घर्षशील व्यक्ति हुँ। परिवारमै सङ्घर्ष गर्थें, समाजमा पनि सङ्घर्ष गरेँ। रोल्पाजस्तो बाहुनको सङ्ख्या जम्मा १.२ प्रतिशत भएको ठाउँमा जनताले मलाई विश्वास गरे। काठमाडौं– २ नम्बर क्षेत्रमा पनि अध्यक्षले मलाई अचानक उम्मेदवार बनाउनुभयो। पार्टीको निर्देशन शिरोपर गरेर म मैदानमा उत्रिएँ। तत्कालीन अवस्थामा यहाँ हाम्रो साङ्गठनिक स्थिति कमजोर नै थियो र पनि जनताले मलाई जिताए। मेरो युनिक नामकै कारण चुनाव जितेको भन्ने कसैलाई लाग्ला, तर म यस्तो ठान्दिनँ।
० जित्छु भन्ने लागेको थियो कि थिएन तपार्इंलाई?
– मलाई आफू जित्छु भन्ने सुरुमा त पटक्कै लागेको थिएन। काठमाडौंको हाम्रो पार्टीको सबभन्दा कमजोर साङ्गठनिक पृष्ठभूमि भएको र म यहाँका लागि नयाँ उम्मेदवार भएकोले मैले त्यस्तो सोच्नु अस्वाभाविक पनि थिएन। तर, चुनावी माहोलमा होमिइसकेपछि मैले आफ्ना चुनावी अनुभवहरूलाई सदुपयोग गरेँ, माधव नेपालको क्षेत्र हुनाले चर्चा पनि भयो। त्यसपछि मैले चैत २० गते पार्टी अध्यक्षलाई भेटेर भनिदिएँ– १२–१४ सय मतले म जित्नेछु। अध्यक्ष पनि खुसी हुनुभयो मेरो आत्मविश्वास देखेर।
० दुई वर्षका लागि तपाईं त्यसरी सभासद् बन्नुभएको व्यक्ति, आज चार वर्ष जित्न लाग्दा पनि संविधान नबनेको मात्र होइन कि भविष्यमा पनि बन्ने सम्भावना समाप्त हुँदै गएको अवस्था छ। तपाईं कस्तो महसुस गरिरहनुभएको छ?
– यो प्रश्न महत्त्वपूर्ण छ र संविधान बनाउने कसम खाएर सभासद् बनेको व्यक्तिका हिसाबले व्यक्तिगत रूपमा आत्मआलोचित पनि छु। तर, यहाँ मेरो आत्माआलोचना या मेरो एकल प्रयासले मात्र त हुने केही होइन। मलाई के लाग्छ भने नेपालका राजनीतिक दलहरू या दलका नेताहरू 'आफूहरूले जे चाह्यो त्यही गर्न सक्छौँ' भन्ने सोचबाट अति उत्साहित बन्न पुगे। इच्छा–चाहना एउटा वस्तुगत नियम अर्को हुन्छ भन्ने हेक्का पनि खासगरी काङ्गे्रस, एमालेजस्ता दलका नेताहरूलाई त्यतिबेला भएन। यसरी समय बढिरहेकोमा म अत्यन्तै चिन्तित छु। व्यक्तिगत रूपमा म दुई वर्षभित्रै संविधान बन्नुपर्छ या बन्नुपर्थ्यो भन्ने मान्छे हुँ, यसरी अवधि लम्बिरहँदा म दुःखी छु। किनकि, मानसिक तयारी नै दुई वर्षको थियो मेरो त।
० संविधान बनाउने काममा एक सभासद्को नाताले तपार्इं व्यक्तिगत रूपमा कति स्वतन्त्र छु भन्ने अनुभूति गरिरहनुभएको छ?
– मानिसहरू कम्युनिस्ट पार्टीका कार्यकर्ता स्वतन्त्र हुँदैनन् पार्टीकै नीति–निर्देशनबाट मात्र उनीहरू परिचालित हुन्छन् भन्ने ठान्दछन्। तर, यसमा बदलाव आइरहेको छ भन्ने बुझ्नुपर्छ। व्यक्तिगत रूपमा हामी सबै स्वतन्त्र छौँ। संविधान निर्माणका सवालमा त व्यक्ति एकको के कुरा, पार्टी एउटाले चाहेर पनि केही हुँदैन। यहाँ त विभिन्न पार्टी छन्, आ–आफ्नै सोच र सिद्धान्त छन्, यी सबैबीच तालमेल हुन त छलफल र बहसको खाँचो छ। व्यक्तिगत रूपले म या अर्को कोही जतिसुकै स्वतन्त्र भए पनि सामूहिक निष्कर्षकै जरुरत छ।
० अहिलेसम्म संविधान बन्न नसक्नुको मूल कारणचाहिँ तपाईं केलाई ठान्नुहुन्छ?
– मलाई के लाग्छ भने दुई वर्ष भनेर जो अवधि तोकियो त्यो नै कम थियो, अर्थात् दुई वर्षमा संविधान बन्न सक्दैनथ्यो। नेताहरू अति उत्साहित भएर दुई वर्ष तोके, आज पछुताउँदै छन्। संविधान लेख्नकै लागि मात्र त एक महिनामै पनि सकिन्छ तर यहाँ त विविध विचार, सिद्धान्त र सोच भएका यावत पार्टीहरूबीच तालमेल मिलाउनु आवश्यक छ। संसदीय परिपाटी मान्ने र नमान्ने, यथास्थितिमा रहन खोज्ने र रहन नचाहने, उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र, मधेसी, आदिवासी, दलित आदि अनेकले आफ्नो पहिचान र अधिकार खोजिरहेछन्। सबैको सम्बोधन एउटै संविधानले गर्नुपर्नेछ भने समय त लाग्छ नै। माओवादी पार्टीबाट जनताले अपेक्षा धेरै गरेका छन् तर सिङ्गो सत्ता माओवादीको हातमा पनि छैन। यसले पनि अप्ठ्यारो पारिरहेको छ। प्रमुख राजनीतिक दलहरूबीच कैयन मुद्दामा तादात्म्यता मिलिनसकेकोले नै यसरी अवधि लम्बिएको हो भन्ने लाग्छ।
० संविधानसभा नै प्रमुख नेताहरूको बन्धक बनेजस्तो लाग्दैन तपाईंलाई?
– झट्ट हेर्दा त्यस्तो अनुभूति हुन्छ। हाम्रो पार्टीको कुरा गर्दा परम्परागत अवस्थामा छैन हाम्रो पार्टी, स्पष्टसँग आफ्ना कुराहरू राख्न पाइन्छ। अरू दलमा पनि त्यस्तै नै होला। मैले माथि उल्लेख गरेझैं विविध मुद्दा र अनेक तहतप्काको समुचित सम्बोधन गर्नुपर्ने भएकोले मात्र यसरी समय लम्बिएको हो, नेताहरूकै नियतका कारणचाहिँ सम्भवतः होइन होला। संविधान त बन्छ भन्ने नै लाग्छ मलाई त।
० के आधारमा र कस्तो संविधान बन्ला त?
– माओवादी पार्टीको कुरा गर्नुपर्दा शान्ति र संविधानको जो एजेण्डा हामीले उठाएका छौँ यसमा हामी इमानदार छौँ। मान्छेहरू ठान्छन्– माओवादीले रणनीतिक हिसाबमा खेलाइरहेको छ! तर, त्यस्तो किमार्थ होइन। त्यत्तिका योद्धाहरूले लडे, अब त साढे ६ हजार मात्र बाँकी हो। उनीहरूको सम्मानजनक तरिकाले समायोजन हुनुपर्छ जसले शान्ति कायम गर्न अत्यन्त फलदायी भूमिका निर्वाह गर्छ भन्ने हाम्रो पार्टीको ठहर छ। शान्ति भएपछि संविधान निर्माणको मार्ग पनि घनीभूत रूपमा सुस्पष्ट हुनेछ। जहाँसम्म कस्तो संविधान भन्ने प्रश्न छ, अबको संविधानले उत्पीडित वर्गको समस्या सम्बोधन गर्न सक्नुपर्छ। दलित, महिला, मजदुर, किसान, मधेसी, मुस्लिम सबैले राहत अनुभूति गर्न पाउनुपर्छ अबको संविधानबाट। ०४७ को संविधानलाई विश्वकै उत्कृष्ट भनियो तर दशवर्षे जनयुद्धले त्यसलाई गलत ठहर्यायो। अब यस्तो हुनुहुन्न।
० आगामी जेठ १४ मा पनि संविधान बन्न नसके अवधि थप्नुपर्ला कि अर्को निर्वाचनमा जानुपर्ला? या अर्को कुनै विकल्प खोज्नुपर्ला? के लाग्छ तपाइलाई?
– यसमा सर्वप्रथमतः म यो भन्न चाहन्छु कि जेठ १४ भित्रै संविधान बन्नुपर्छ र यो सम्भव पनि छ। म नेताहरूलाई परिस्थितिप्रति गम्भीर बनेर उचित कदम चाल्न आग्रह र अनुरोध पनि गर्न चाहन्छु। जनताले दिएको म्याण्डेटभित्र काम हुन नसके देश तहसनहस हुनसक्छ भन्ने कुरा मूलतः तीन दलका शीर्ष नेतृत्वहरूले बुझ्नु अत्यन्त आवश्यक छ। अब संविधानसभाको म्याद थप्नुहुँदैन, जनता मान्नेवाला छैनन्। जनताको समस्या हल गर्नका लागि पार्टी बनेका हुन्, पार्टीका लागि जनता बनेका होइनन्। तसर्थ पार्टीले जनताको कुरा सुन्नुपर्छ, भावना बुझ्न सक्नुपर्छ। जेठ १४ मा नभए के भन्नेतर्फ म प्रवेश नै गर्न चाहन्न अहिले, किनकि जेठ १४ भित्रै संविधान बन्नुपर्छ।
० तपाईंको पार्टीभित्रै एकथरी बाबुराम नेतृत्वको सरकार ढाल्नैपर्छ भन्छन् भने एकथरीले राख्नुपर्छ भनिरहेका छन्। वास्तवमा यो ढाल्नुपर्ने सरकार हो कि राख्नुपर्ने?
– मलाई त अहिले यो सरकार ढाल्दा गल्ती हुन्छ भन्ने लाग्छ। किनकि, सरकार ढाल्ने र अर्को बनाउनेतिर लाग्दा जेठ १४ मा संविधान नबन्ने परिस्थिति खडा हुन्छ। जम्मा ३ महिना बाँकी छ, यो अवधिका लागि बाबुरामजीको नेतृत्वमै सरकार रहनुपर्छ, अझ यही सरकारमा काङ्गे्रस र एमाले पनि आउनुपर्छ भन्ने लाग्छ मलाई। जेठ १४ पछि चाहिँ नेपाली काङ्गे्रसको नेतृत्वमा सरकार हुनुपर्छ र त्यो सरकारमा सबै पार्टी आ–आफ्नो हैसियत या गच्छेअनुसार सहभागी भएर चुनाव गराउनेतिर लाग्नुपर्छ। त्यसो गर्दा मात्रै देश सकारात्मक दिशातिर उन्मुख हुनसक्छ।
We have 210 guests and no members online