काठमाडौं, फागुन १० । 'हाम्रै कमाण्डमा रहेका लडाकुले हामीविरुद्ध नै आन्दोलनका कार्यक्रम घोषणा गर्लान् भन्ने कल्पनासम्म गरेको थिइनँ, उनीहरूको आन्दोलन घोषणाले बाहिर नराम्रो सन्देश गयो, तपाईंले आन्दोलन गर्छु भन्ने वाईसीएलका साथीहरूलाई सम्झाउनुपर्यो।' यो अध्यक्ष प्रचण्डले सोमबार साँझ उपाध्यक्ष मोहन वैद्यसँग गरेको संवादको एक अंश हो। जवाफमा वैद्यले के भने त्यो जानकारी भएन। प्रचण्डनिकट एक केन्द्रीय सदस्यले प्रचण्ड र वैद्यबीचको फोन संवादबारे जानकारी गराउँदै सोमबार राति भने, वाईसीएलको आन्दोलन घोषणाले पार्टीको प्रतिष्ठामा झन् ठूलो धक्का पुगेको गुनासो थियो प्रचण्डको वैद्यसँग।
वैद्यसँगको संवादपछि प्रचण्ड केहीबेर एक्लै बर्बराएका थिए। उनको भनाइ थियो, 'यस्तो हुन्छ भन्ने जानकारी पाएको भए, यिनीहरूलाई पहिले नै शिविरमा कोचेर राखिन्थ्यो।' प्रचण्डले आफूलाई फेरि घेराबन्दीमा पार्न लागेको गुनासोसमेत गरेका थिए। उनको भनाइ थियो, 'फेरि पार्टीमा नयाँ खेलको सुरुवात गर्नुपर्ने भयो।' प्रचण्डका एक सहयोगीका अनुसार प्रचण्डले आन्दोलन गर्ने चेतावनी दिएका वाईसीएलका केही नेतासँग पनि फोन सम्पर्क गरेर पार्टीले केही दिनमै राहतका कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराउँदै आन्दोलन कार्यक्रम स्थगित गर्न भनेका थिए।
सोमबार दिउँसो अध्यक्ष प्रचण्डसँग भेटेर आफूहरूलाई स्वेच्छिक अवकाशमा जाने लाडकुसरह सेवा–सुविधा नदिए बाध्य भएर नेतृत्वविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी वैद्यनिकट वाईसीएल नेताहरूले दिएका थिए। त्यसबेला पनि प्रचण्डले आन्दोलनमा नजान आग्रह गर्दै केही दिनमै पार्टीले राहत कार्यक्रम ल्याउने भन्दै केही दिन धैर्य गर्न भनेका थिए। भेटमा वाईसीएल नेताले नेतृत्व आफ्नामा मागप्रति उदासीन भएकोले आन्दोलनको विकल्प नदेखेको प्रतिक्रिया दिएका थिए। प्रचण्डलाई भेटेर फर्केलगतै वाईसीएल नेतृ सावित्री दुराले विज्ञप्ति जारी गर्दै नेतृत्वले आफूहरूलाई स्वार्थअनुकूल प्रयोग गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेकी थिइन। दुराले जारी गरेको विज्ञप्तिमा आन्दोलनको पहिलो चरणका कार्यक्रमअन्तर्गत पार्टी र लडाकु कमाण्डरसँग छलफल गर्ने, दोस्रो चरणको आन्दोलनमा पार्टी कार्यालय र अध्यक्ष दाहाल निवास अनिश्चितकालीन घेराउ गर्ने उल्लेख छ। विज्ञप्तिमा आन्दोलनकै कार्यक्रमअन्तर्गत पार्टीका केन्द्रीय नेता तथा जनमुक्ति सेनाका कमाण्डरले प्रयोग गर्ने निजी सवारीसाधन चल्न नदिने, पार्टीभित्र देखिएका विकृति र विसङ्गतिविरुद्ध भण्डाफोर गर्नेजस्ता कार्यक्रम रहेको जानकारी गराएका छन्।
We have 204 guests and no members online