काठमाडौँ, माघ १२ । पूर्वराजा ज्ञानेन्द्र शाहका लागि सिमराको प्रभु निवास परिसरमा निर्माणाधीन भव्य अत्याधुनिक बङ्गलामा प्रयोग गरिएको जगदम्बा स्टिलको छड निर्माणको क्रममा भाँचिएको छ।
सञ्चारमाध्यमहरूमा 'नेपालकै नम्बर वान स्टिल कम्पनी जगदम्बा स्टिलको टीएमटी भूकम्प प्रतिरोधात्मक छड' भनेर प्रचार गरिएकै कारण सिमरास्थित प्रमुशमशेर जबराले प्रचारबाट झुक्किएर पूर्वराजाका लागि बनाउन लागिएको बङ्गलामा जगदम्बा स्टिलको छड प्रयोग गरिएको स्रोतले जनाएको छ। बजरंग कन्स्ट्रक्सन वरैनियाले निर्माण गर्दै गरेको सो बङ्गलाको शयनकक्षतर्फ राखिन लागेको विमको ८ एमएमको छड भाँचिएको कन्ट्रक्सनका प्रोप्राइटर एवम् ठेकेदार प्रभुप्रसाद यादवले बताए।
करिडोरका अन्य स्टिल कम्पनीहरूमा ९५ रुपैयाँदेखि ९९ रुपैयाँसम्म बिक्री भइरहेको छड प्राइम विलेटबाट बनाइन्छ भने जगदम्बाले सस्तोका लागि कवाडबाट निर्माण गरेर बिक्री–वितरण गर्दै आइरहेको स्थानीय सुरज लम्सालले बताए। उक्त भवन निर्माणका लागि जगदम्बा स्टिलको छड सिमरास्थित कँडेल हार्डवेयरले मङ्सिर १६ गतेदेखि पटकपटक गरी ८, १०, १२ र १६ एमएमका छड चार टन प्रतिकिलो ८५ रुपैयाँमा बिक्री गरेको हार्डवेयर सञ्चालक रोशन कँडेलले बताए।
जगदम्बा स्टिलको नक्कली टीएमटी छड भाँचिएको ठेकेदारले बताएपछि प्रभुशमशेरको फार्ममा कार्यरत पार्वती ढकालले तत्काल जगदम्बाको छड प्रयोगमा रोक लगाएको बताइन्। 'अब राम्रो स्टिल कम्पनीको छड प्रयोग गर्छौं,' उनले भनिन्।
छड भाँचिएपछि ढकालले तत्काल जगदम्बा स्टिलमा सम्पर्क गरी छड भाँचिएको जानकारी गराए पनि कम्पनीले खरिद गरेको ठाउँमै गुनासो गर्नुस् भन्दै पन्छिएको बताइन्।
उक्त फार्ममा रहेको पुरानो भवनमाथि दोस्रो तल्लामा निर्माण गरिन लागेको अत्याधुनिक बाथरुम, शृङ्गार कक्ष, खेलकुद रुम, अतिथि कक्ष, शयन कक्ष, बैठक कक्ष, भान्छा हललगायतका संरचना तीन महिनाभित्र सम्पन्न गर्ने उद्देश्यका साथ निर्माणकार्य तीव्र पारिएको स्रोतले जनायो।
गत वर्ष बारा, पर्सा र रौतहट भ्रमणका क्रमा पूर्वराजा ज्ञानेन्द्रले प्रभुनिवासमा एक हप्ता बिताउँदा उनले असहज अनुभव गरेपछि प्रभुशमशेरले राजकीय महल निर्माण सुरु गरेको स्रोतले बताएको छ। बङ्गला निर्माणको क्रममा झण्डै १८ टन छड लाग्ने बताउँदै बजरंग कन्ट्रक्सनका प्रोप्राइटर यादवले भने आफ्नो २० वर्षे अनुभवमा आजसम्म छड बङ्ग्याउँदा भाँचिएको थाहा थिएन, तर जगदम्बा स्टिलको छड रिङ्ग बनाउन अलिकति घुमाउनेबित्तिकै भटाभट भाँचिएको छ। यस्ता छड छुट्टै सङ्कलन गरेर राखिएकोसमेत बताए। हार्डवेयर सञ्चालक कँडेलले आफूले यस सम्बन्धमा उद्योगलाई जानकारी गराउँदा टेम्प्रेचर हाई भएछ मात्रै भनेको भन्दै आफूले उद्योगले जस्तो छड दिएको त्यस्तै बेचेको प्रतिक्रिया दिए।
We have 187 guests and no members online