Weekly Nepal

मारिनुअघिको एक आश्चर्यजनक घटना

काठमाडौँ। प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य मानिएका कृष्णमोहन श्रेष्ठले सशस्त्र प्रहरी बलको प्रमुख रहेकै बेला ज्यान गुमाएको अहिले दश वर्ष बितिसकेको छ। ०५८ साल माघ १२ गते 'मर्निङवाक'मा रहेका श्रेष्ठ र उहाँकी पत्नीलाई माओवादी गुरिल्लाहरूले सडकमै गोली हानी हत्या गरेका थिए। देशको एउटा असल सिपाहीको हत्या गरिएको घटनाले त्यसबेला माओवादीप्रति घृणा पैदा गरेको थियो। तर, उहाँको हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा नल्याई उल्टै पुरस्कृत गरेर राज्यले श्रेष्ठको योगदानमाथि व्यङ्ग्य गरिसकेको छ। राज्यले जे–जस्तो व्यवहार गरे पनि श्रेष्ठलाई जनस्तरले भने भुल्न सकेको छैन। कृष्णमोहन श्रेष्ठको हत्या हुनुभन्दा ठीक अघि भएको एउटा घटना जुन अहिलेसम्म सार्वजनिक भएको छैन र आफैंमा रोचक छ, श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त घटनाबारे यहाँ सङ्क्षिप्त वर्णन गर्न खोजिएको छ। 

०५८ साल माघ १२ गते माओवादीबाट हत्या हुनुभन्दा नौ दिनअघि माघ ३ गते सशस्त्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठ सशस्त्र प्रहरीको पहिलो 'पास आउट'का लागि सुर्खेत जानुभएको थियो। 'पास आउट' सँगै त्यहाँ (सुर्खेत बाङ्गेसिमलमा) रक्तकाली गणका निम्ति निर्मित घरहरूको उद्घाटन गर्ने कार्यक्रम पनि थियो। रक्तकाली गणका प्रमुख थिए– डीआईजी रोहित थापा। त्यसबखत उद्घाटन गर्दै घर प्रवेशको क्रममा कृष्णमोहन श्रेष्ठको गोडा पूजा–सामग्रीले भरिभराउ थालीमा अल्भि्कयो र थाली उल्टियो–घोप्टियो। यस्तो दृश्य देखेर त्यहाँ उपस्थित सबै विष्मित भए। त्यसपछि माघ ५ गते वनबेहडास्थित बडिमालिका सशस्त्र गणमा जवानहरूको 'पास आउट' र परिसरभित्रै निर्मित बडिमालिका मन्दिरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिन श्रेष्ठ गए। त्यहाँ गण प्रमुख थिए– पोषेन्द्रध्वज खाँण (स्वर्गीय)। मन्दिर उद्घाटनको क्रममा पूजा गर्न कृष्णमोहनले त्यति मन नदिएको, बरु हतारहतारमा फूल–अक्षता छरेर हिँडेको महसुस सहभागीहरूले गरे। त्यसै दिन कृष्णमोहन नेपालगन्ज फर्किए। उनीसँगै उनको सचिवालय प्रमुख हाल एआईजीपी ठाकुरमोहन श्रेष्ठ तथा अन्य केही अधिकारी पनि नेपालगन्ज फर्किए। भाडामा लिइएको एउटा होटलमा श्रेष्ठसहित हालका एआईजी कोषराज वन्त र रोहित थापा पनि थिए। राति कृष्णमोहनले आफू भोलिपल्ट बिहान 'मर्निङवाक'मा जान चाहेको जानकारी दिए। चरम द्वन्द्वको बेला भएको हुँदा ठाकुरमोहनसहित उपस्थित सबैले 'मर्निङवाक' नजान सचेत गराए। राति त उनी चुप लागेर सुते, तर बिहान रोक्न कसैले सकेनन्। कृष्णमोहन 'वाकिङ'मा निस्किए, प्रहरीले कडा सुरक्षा–प्रबन्ध गर्नुपर्योि। उनलाई काठमाडौंमा पनि मर्निङवाक नजान सम्बद्ध निकायहरूले बारम्बार सचेत गराएका थिए, तर उनले त्यसको बेवास्ता गर्दै आएका थिए। 'वाकिङ'मा नजान सुझाव दिनेहरूलाई उनी भन्ने गर्थे, 'के मलाई तर्साउन खोजेको?' वास्तवमा उनले यस्तो सुझाव या निर्देशनलाई कहिल्यै टेरेनन् र नेपालगन्जमा पनि कसैको आग्रहलाई नसुनेर 'मर्निङवाक'मा गएका थिए। नेपालगन्जमा रहँदा त्यहाँका एक विख्यात योगी राधास्वामीले कृष्णमोहनलाई 'तपाईंको दिन अति खराब चलिरहेको' भन्दै काठमाडौं नफर्कन सुझाव दिएका थिए। राधास्वामीले तात्कालिक डीआईजीपी रोहित थापा र ठाकुरमोहन श्रेष्ठमार्फत पनि कृष्णमोहनलाई नेपालगन्जमै रोक्न प्रयास गरेका थिए। तर, नवयुवराज हृदयेन्द्रको पास्नीमा जानुपर्छ भन्दै उनी त्यहीँ रोकिन मानेनन्, काठमाडौं फर्किए। 

माघ ११ गते राति कृष्णमोहन श्रेष्ठको सचिवालय प्रमुख रहेका ठाकुरमोहन श्रेष्ठको घरमा राधास्वामीले फोन गरी आफूले यहाँ (नेपालगन्ज)बाट पूजा सामग्री डीआईजी रोहित थापाकहाँ पुग्ने गरी पठाइदिएको जानकारी गराउँदै उक्त सामग्री लिएर बंगलामुखीमा आईजीपी कृष्णमोहन र उहाँकी पत्नीले संयुक्त रूपमा पूजा गर्नुपर्ने भन्दै आग्रह गरे। फोन ठाकुरमोहनकी धर्मपत्नीले उठाएकी थिइन्। राति साढे दश बजेतिर ठाकुरमोहन आफ्नो घर पुगेपछि धर्मपत्नीबाट राधास्वामीको आग्रहबारे जानकारी पाए। उनले तत्कालै नेपालगन्जस्थित राधास्वामीलाई फोन गरेर थप जानकारी लिए। स्वामीले रोहित थापाकहाँ आफूले पठाएको पूजा–सामग्री पुगिसकेको जनाउँदै भोलि (१२ गते) बिहान सात बज्नुभन्दा अघि नै कृष्णमोहन श्रेष्ठको पति–पत्नीलाई बंगलामुखी लगेर पूजा गर्न लगाउनु भने। स्वामीसँगको वार्तालाप सकिएपछि ठाकुरमोहनले डीआईजी रोहित थापा जो त्यसबेला काठमाडौं आएका थिए उनलाई फोन गरेर पूजा–सामग्री आए–नआएको निश्चित गरे। थापाले आफू घरबाहिर रहेको बताउँदै सामग्रीचाहिँ घरमा आइपुगेको पुष्टि गरे। त्यसपछि ठाकुरमोहनले आईजीपी कृष्णमोहनलाई फोन गरे, तर उनले उठाएनन्। पटकपटक फोन गरेपछि रातको पौने एघार बजेतिर फोन उठ्यो, ठाकुरले केही साङ्गठनिक कुराहरूबारे जानकारी गराएपछि राधास्वामीले पूजा–सामग्री पठाएको र भोलि बिहान सात बज्नु पहिले नै बंगलामुखी पूजामा जानुपर्ने बताए। तर, कृष्णमोहनले पूजाको कुरा सुन्नेबित्तिकै केही नबोली फोन राखिदिए। ठाकुरमोहनले पुनः फोन गरे र पूजा–सामग्रीको गम्भीरताबारे बताए। त्यसपश्चात् कृष्णमोहनले 'तिमी नै गएर पूजा गर्नू' भन्दै फोन राखिदिए। ठाकुरले फेरि फोन गरेर आग्रह गरे तर कृष्णमोहनले आफू मर्निङवाकमा जाने बताउँदै पूजा गर्न तिमी नै जाऊ भनी अह्राए। कृष्णमोहन श्रेष्ठले यसरी पूजामा जान अस्वीकार गरेपछि ठाकुरमोहनले रोहित थापासँग टेलिफोन सम्पर्क गरी तत्काल छलफल गरे। छलफलपश्चात् भोलिपल्ट (१२ गते) बिहान ६ बज्नुअगाडि नै दुवैजना रोहित र ठाकुर आईजीपी कृष्णमोहनको घरमा पुग्ने, पूजा–सामग्री दुवैजना (पति–पत्नी) लाई छुवाउने र साढे ६ बजेभित्रै बंगलामुखी गएर पूजा गराउने निधो भयो। त्यसअनुुसार डीआईजी थापा १२ गते बिहान पाँचदेखि साढे पाँचभित्रै ठाकुरमोहनको घरमा पुग्नुपर्ने थियो। ठाकुरमोहन पाँच बजेदेखि नै तयार भएर थापाको प्रतीक्षामा बसे। तर ६ बज्न लाग्दा पनि उनी नआइपुगेपछि फोन गरे, थापाले आउँदै छु भन्ने जवाफ दिए। एवम् रितले सात बज्यो, ठाकुरमोहनले पुनः फोन गरे– थापाले 'आउँदै छु' भन्ने जवाफ फर्काए। वास्तवमा अघिल्लो दिन राधास्वामीले पठाएको सामग्री थापाको घरभित्रै बेपत्ता भएछ। उनी पूजा–सामग्री खोजेको–खोज्यै भएछन्, केहीबेरपछि ठाकुरमोहनको मोबाइलमा घण्टी बज्यो, 'आईजीपी साहेव र उहाँकी पत्नी नुडुपलाई गोली हानेर मारिएको' खबर ठाकुरले पूजा–सामग्रीको प्रतीक्षा गर्दागर्दै पाए। ठाकुर थचक्क भुइँमा बसे, उता कृष्णमोहन श्रेष्ठ र उहाँकी धर्मपत्नीलाई ललितपुरको पटिपा चोकनजिकै आततायीहरूले झुक्याएर गोली हानी ढालेका थिए।  

Robots also like to read your comments! ...yes, they have feelings too! ;)खै कथा जस्तो लाग्यो । पत्याउनु कि नपत्यानु ।।।।. waiiyat lekha, Jogilai promotion garne khalko lekh! Any way Krishna Mohan shrestha was one of the honest police officer of Nepal.

Weekly Video

Life&style

Women

We have 166 guests and no members online