काठमाडौं। पाँच विकास क्षेत्रमा खोलिएका प्रहरी तालिम केन्द्रहरु हाकिमका कमाइखाने अखाडा भएका छन्। परिवर्तित परिस्थिति अनुरुप प्रहरीलाई अत्याधुनिक तालिम दिनुपर्ने दायित्व बोकेका केन्द्रका समादेशकहरु घुस र कमिसनमा लिप्त भएको कुरासमेत हेडक्वार्टरबाट खटिएको टोलीले फेलापारेको छ। पाँचै विकास क्षेत्रका तालिम केन्द्रको निरीक्षणका लागि मानवस्रोत विभागबाट खटिएको टोलीले अध्ययनका क्रममा तालिम केन्द्रमा ब्याप्त भ्रष्टाचार हु्ने गरेको तथ्यसमेत पाएको छ।
प्रहरीभित्र पछिल्लो समयमा तालिम केन्द्र एसपीका लागि निकै आकर्षक कार्यालय भएका छन्। दक्षता, योग्यता र क्षमता भन्दा पनि दबाब र प्रभावका आधारमा तालिम केन्द्रमा सरुवा हुने क्रम बढेकाले प्रहरी भर्नामा पैसाको बोलवाला बढेको कुरा सार्वजनिक हुन थालेको छ। तालिम केन्द्रका समादेशकहरुले लत्तापकपडा, रासन र पासआउट कार्यक्रमको बहानामा सिपाही शोषण गर्दैआएको कुरा समेत अध्ययनका क्रममा फेला पारेको प्रहरी सूत्रले जनाएको छ। साँघुले भर्ना भएदेखि तालिम समापनसम्म सिपाहीहरुमाथि हुने गरेको शोषणको बारेमा समाचार प्रकाशित गरेपछि भरतपुर तालिम केन्द्रको अध्ययनका लागि एसपी पवन खरेलको टोली खटिएको थियो।
प्रहरी सूत्रका अनुसार अध्ययनका क्रममा सबैभन्दा खत्तम अवस्था भरतपुर तालिम केन्द्रको भेटिएको छ। एसपीको रोजाई काठमाडौं महानगरीय परिसरपछिको भरतपुर तालिम केन्द्र हुने गर्दछ। अरु तालिम केन्द्र भन्दा बढी सिपाही भर्ना गरिने सुविधासम्पन्न भरतपुर तालिम केन्द्रलाई ३१ महिनासम्म समादेशक भएका एसपी बलराम शर्मा पौडेलले अनियमितताको पर्याय नै बनाएको टोलीले फेला पारेको प्रतिवेदन हेडक्वार्टरमा पुगेको मानव स्रोत सूत्र बताउँछ।
प्रतिवेदन अनुसार, मध्यक्षेत्रको ठूलो तालिम केन्द्रको अवस्था अरु तालिम केन्द्रको भन्दा भद्रगोल र गएगुज्रेको हालतमा हुनुको मुख्य दोषी समादेशक शर्मा नै भएको अध्ययन टोलीको निष्कर्ष छ। हरेक समादेशकले आफ्नो कार्यकालमा तालिम केन्द्रमा देखाउनका लागि एउटा न एउटा काम गर्थे तर उनले देखाउन लायक केही काम गरेनन्। ३१ महिने कार्यकालमा एसपी शर्माले २ चरणमा सिपाही भर्ना गर्दा घुस खाने, तिनै सिपाहीलाई तेब्बर मूल्यमा लत्ताकपडा भिडाई कमिसन खाने काममात्र गरेको गुनासो पीडितहरुको रहेको छ। पछिल्लो पटक भर्ना भएका ९ सय जना भन्दा बढी सिपाहीलाई लत्ताकपडालगायतका तालिमका सामग्रीका लागि एसपी पौडेलले प्रतिव्यक्ति ६१ सय रुपैयाँ उठाएका थिए। अधिकतम ३५ सय रुपैयाँ पर्ने ती सामानका लागि सिपाहीबाट भने ६१ सय रुपैयाँ उठाएर एसपी शर्माले एक सिपाहीबराबर कम्तीमा २५ सय कमिसन खाएको आरोप छ।
एक जनाबराबर २५ सय रुपैयाँका दरले ९ सय सिपाहीको २२ लाख रुपैयाँ कमिसन एसपी पौडेलको हातमा पुगेको छ। ५ सय रुपैयाँमा बजारमा पाइने ट्रयाकसुटलाई ११ सय रुपैयाँसम्म सिपाहीसँग असुलिएको छ। भरतपुरमा छनोट भएका तर काठमाडौंका एक र दुई नंं गण अनि कार्यदलमा तालिमका लागि पठाइएका रिक्रुटहरुलाई समेत एसपी शर्माले भरतपुरमै तालिमका सामग्री खरिद गराएका थिए। यस्तै फायरिङका लागि उठाएको पैसाको कुरा अलग्गै रहेको छ।
शर्मा पूर्वप्रधानमन्त्री माधव नेपालको कृपाबाट भरतपुर तालिम केन्द्रको समादेशक बनेका थिए। शर्माले सिपाही भर्नामा रौतहटका युवाहरुसँग एकजनाबराबर २ लाख रुपैयाँसम्म असुलेर माधव नेपालको समेत बदनाम गरेका थिए। शर्माले सिपाही भर्नामा योग्य र शारीरिक रुपमा सक्षमतालाई आधार बनाउनुपर्नेमा घुसलाई आधार बनाएको आरोप खेप्दै आएका छन्। शर्मापछिका समादेश विष्णुहरि गौतम पनि तालिम केन्द्रको कमाण्ड गर्ने क्षमता नभए पनि राजनीतिक दबाबकै आधारमा सरुवा भएका छन्। उनी इन्स्पेक्टर हुँदैदेखि कुनै न कुनै काण्डमा मुछिंदै डीएसपी हुँदा पर्वतमा जनआन्दोलन गर्ने डीएसपीमा रायमाझी आयोगमा दर्ज छन्।
We have 196 guests and no members online