काठमाडौं, फागुन १० । 'हाम्रै कमाण्डमा रहेका लडाकुले हामीविरुद्ध नै आन्दोलनका कार्यक्रम घोषणा गर्लान् भन्ने कल्पनासम्म गरेको थिइनँ, उनीहरूको आन्दोलन घोषणाले बाहिर नराम्रो सन्देश गयो, तपाईंले आन्दोलन गर्छु भन्ने वाईसीएलका साथीहरूलाई सम्झाउनुपर्यो।' यो अध्यक्ष प्रचण्डले सोमबार साँझ उपाध्यक्ष मोहन वैद्यसँग गरेको संवादको एक अंश हो। जवाफमा वैद्यले के भने त्यो जानकारी भएन। प्रचण्डनिकट एक केन्द्रीय सदस्यले प्रचण्ड र वैद्यबीचको फोन संवादबारे जानकारी गराउँदै सोमबार राति भने, वाईसीएलको आन्दोलन घोषणाले पार्टीको प्रतिष्ठामा झन् ठूलो धक्का पुगेको गुनासो थियो प्रचण्डको वैद्यसँग।
वैद्यसँगको संवादपछि प्रचण्ड केहीबेर एक्लै बर्बराएका थिए। उनको भनाइ थियो, 'यस्तो हुन्छ भन्ने जानकारी पाएको भए, यिनीहरूलाई पहिले नै शिविरमा कोचेर राखिन्थ्यो।' प्रचण्डले आफूलाई फेरि घेराबन्दीमा पार्न लागेको गुनासोसमेत गरेका थिए। उनको भनाइ थियो, 'फेरि पार्टीमा नयाँ खेलको सुरुवात गर्नुपर्ने भयो।' प्रचण्डका एक सहयोगीका अनुसार प्रचण्डले आन्दोलन गर्ने चेतावनी दिएका वाईसीएलका केही नेतासँग पनि फोन सम्पर्क गरेर पार्टीले केही दिनमै राहतका कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराउँदै आन्दोलन कार्यक्रम स्थगित गर्न भनेका थिए।
सोमबार दिउँसो अध्यक्ष प्रचण्डसँग भेटेर आफूहरूलाई स्वेच्छिक अवकाशमा जाने लाडकुसरह सेवा–सुविधा नदिए बाध्य भएर नेतृत्वविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी वैद्यनिकट वाईसीएल नेताहरूले दिएका थिए। त्यसबेला पनि प्रचण्डले आन्दोलनमा नजान आग्रह गर्दै केही दिनमै पार्टीले राहत कार्यक्रम ल्याउने भन्दै केही दिन धैर्य गर्न भनेका थिए। भेटमा वाईसीएल नेताले नेतृत्व आफ्नामा मागप्रति उदासीन भएकोले आन्दोलनको विकल्प नदेखेको प्रतिक्रिया दिएका थिए। प्रचण्डलाई भेटेर फर्केलगतै वाईसीएल नेतृ सावित्री दुराले विज्ञप्ति जारी गर्दै नेतृत्वले आफूहरूलाई स्वार्थअनुकूल प्रयोग गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेकी थिइन। दुराले जारी गरेको विज्ञप्तिमा आन्दोलनको पहिलो चरणका कार्यक्रमअन्तर्गत पार्टी र लडाकु कमाण्डरसँग छलफल गर्ने, दोस्रो चरणको आन्दोलनमा पार्टी कार्यालय र अध्यक्ष दाहाल निवास अनिश्चितकालीन घेराउ गर्ने उल्लेख छ। विज्ञप्तिमा आन्दोलनकै कार्यक्रमअन्तर्गत पार्टीका केन्द्रीय नेता तथा जनमुक्ति सेनाका कमाण्डरले प्रयोग गर्ने निजी सवारीसाधन चल्न नदिने, पार्टीभित्र देखिएका विकृति र विसङ्गतिविरुद्ध भण्डाफोर गर्नेजस्ता कार्यक्रम रहेको जानकारी गराएका छन्।
काठमाडौं, फागुन १० । लामो समयदेखि चल्दैआएको भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले बहालवाला सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई लाखौँ नगद जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ। हिजो मंगलबार ऐतिहासिक फैसला गर्दै न्यायाधीसद्वय तर्कराज भट्ट र सुशीला कार्कीको इजलासले मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गुप्तालाई ८४ लाख जरिवाना, त्यत्तिबराबरकै सम्पत्ति जफत एवम् डेढ वर्ष जेल सजाय सुनाएको हो।
प्रजातन्त्र पुनर्स्थापन भएयता ०४८ देखि ०५९ सालसम्म सांसद, सञ्चारमन्त्री, कृषिमन्त्री जस्ता मन्त्रालयको जिम्मेवारी पाएको अवस्थाको लाभ उठाउँदै भ्रष्टाचार गरेको अभियोगसहित ०६० सालमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो। तर गुप्ताविरुद्ध अभियोगअनुरुपको प्रमाण फेला नपरेको भन्दै विशेष अदालतले उनलाई ०६३ मा सफाई दिएको थियो। त्यसपछि अख्तियारले पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार फैसला सुनेलगत्तै मन्त्री गुप्ताले पदबाट राजिनामा दिनुका साथै प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए, जसका कारण उनको जेलसजाय २० प्रतिशत कम हुने भएको छ।
अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै गुप्ताले 'अदालतको फैसलाको मूल्याङ्कन हुँदैगर्छ तर आफू मधेस र मधेसी जनताको अधिकारको लागि लामो समयदेखि लड्दै आएकोले यस्तो पूर्वाग्रही फैसला सुनाइएको' दाबी गरे। गुप्तालाई हिजो मंगलबार नै सदरखोर डिल्लीबजार लगिएको छ।
काठमाडौं, फागुन ९ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको धार्मिक परम्परा हिन्दु र क्रिश्चियन मिश्रित छ भने यतिखेर उनका परिवारका कुनै सदस्यहरुको विवाह हुन पनि लागिरहेको छैन। हिन्दु धर्मको चाड दशै गत असोजमै थियो भने क्रिशमस पनि केही महिना अघि नै मनाइ सकिएको छ। प्रचण्डका एक मात्र छोरा प्रकाशको दोस्रो विवाह गुपचुप रुपमा तीन वर्ष अघि नै पोखरामा गरिएको थियो भने कान्छी छोरीको दोस्रो औपचारिक विवाह पनि एक महिना अघि गोप्य ढंगले सम्पन्न भइसकेको छ। तर, लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको नयाँ निवास धमाधम सिगारिदै छ। बेला न कुबेला प्रचण्ड निवास किन सिगारिएको होला? 'सर्वहारा वर्गका नेता प्रचण्डले चितवनमा भएको अलिकति जग्गा समेत पार्टीलाई बुझाइ सकेका छन्।' त्यसैले उनले कहाँबाट पैसाको जोहो गरेर आफ्नो निवास सिगारिरहेका होलान? निकै कौतुहलताको विषय छ माओवादीलाई।
स्रोतहरुका अनुसार यतिबेला माओवादी अध्यक्ष प्रचण्डको नयाँ निवास धमाधम सिगारिदै छ। त्यो पनि सामान्य लगानीमा सामान्य पाराले होइन्, करोडौं खर्चेर भव्य ढंगले। कार्तिक महिनादेखि नै प्रचण्ड निवासलाई सिगार्नेक्रम सुरु भएको थियो। स्रोतका अनुसार हेटौडा स्थाई घर भएका अजय सुमार्गी नामका व्यक्ति प्रचण्डका व्यापारिक साझेदार छन यतिबेला। केही वर्ष अघिसम्म सामान्य परिवारमा रहेका सुमार्गी अहिले भने अरबौको कारोवार गर्छन्। युद्धकाल र शान्ति प्रक्रियामा आए लगत्तै माओवादीले विभिन्न निकायबाट लुटेको रकम सुमार्गी मार्फत विभिन्न व्यावसायमा लगानी गरेका स्रोतहरुको दावी छ। लाजिम्पाटस्थित प्रचण्डको नयाँ निवास पनि उनै सुमार्गीले खोजेका थिए। अहिले तिनै सुमार्गीको अगुवाइमा प्रचण्ड निवास सिगार्ने क्रम जारी छ। हिजो आफैंले क्रान्तिका रुमानी सपना देखाएर लडाएका कार्यकर्ताहरु केही सय/केही हजार खर्चको अभावमा शरिरमा लागेका गोली झिक्न नसकेर मर्नु न बाँच्नु भइरहेका बेला प्रचण्ड निवास भने करोडौ खर्चेर सिगारिदै छ। युद्धकालमा प्राणको वाजी थापेर लडेका लडाकूहरुलाई लज्जाजनक ढंगले घर फर्काउदा राज्यले दिएको पाँच लाख रुपियाँको चेक पनि कमाण्डरहले नै खोसेका थिए। करोडौं रुपियाँ खर्चेर तीन चार महिनादेखि प्रचण्ड निवास सिगार पटार गर्नुले कतै लडाकुको चेक प्रचण्डलाई नै थैली बुझाउन त खोसिएको थिएन? प्रश्न उब्जिएको छ।
काठमाडौं, फागुन १० । पूर्व राजा ज्ञानेन्द्र अब देश दौडाहामा निस्कने भएका छन् । प्राप्त जानकारीअनुसार, यही फागुनको तेस्रो सातादेखि उहाँको देश दौडाहा कार्यक्रम सुरु हुने र कम्तीमा चैतको दोस्रो सातासम्म चल्नेछ। भ्रमणको उद्देश्य नितान्त धार्मिक रहेको समाचार स्रोतले जनाएको छ। कार्यक्रमअनुसार, यही फागुन १८ गतेदेखि सुनसरीको झुम्कामा सुरु हुने पुराणको शुभारम्भ पूर्वराजाबाट गरिँदै छ, उक्त कार्यका लागि ज्ञानेन्द्र सोही बिहान हवाईजहाजबाट विराटनगर हुँदै झुम्का जाने कार्यक्रम छ। विभिन्न जिल्लाबाट धार्मिक समारोहहरूको समुद्घाटनका लागि निमन्त्रणा प्राप्त भए पनि कहाँ कहिले जाने भनेर कार्यक्रम तय भइनसकेको बताइन्छ।
तर एक महिनाभित्र मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा हुने धार्मिक समारोहहरूमा उनले भाग लिने निश्चित भइसकेको छ। धार्मिक कार्यक्रमहरूमा हुने पूर्वराजाको सहभागिताको राजनीतिक अर्थ खोजिने सम्भावना त छँदै छ, तर त्यसको कसरी अर्थ लगाइएला प्रतीक्षाको विषय बनेको छ।
केही समयको भारत भ्रमण सकेर एक साताअघि मात्र स्वदेश फर्किएका पूर्व राजालाई शिवरात्रिमा पशुपति दर्शनका बेला सर्वसाधारणको भीडले व्यापक स्वागत गरेको थियो। शिवरात्रि मनाउन पशुपति पुगेका सर्वसाधारणले अकस्मात् पूर्वराजालाई देखेपछि आत्मीयता प्रकट गर्दै विभिन्न नारा लगाएका थिए। संविधान निर्माणको सम्भावना कम हुँदै गएको, निर्माण भइहाले पनि सर्वस्वीकार्य संविधान आउने सम्भावना नरहेको वर्तमान अवस्थामा राजाको देश दौडाहा कार्यक्रमले राजनीतिक दलहरूलाई सचेत गराउने सम्भावना भने देखिएको छ।
काठमाडौं, फागुन ९ । सुपुदर्गी सन्धिसम्बन्धी तीन विधेयकको छलफलमा आफूनिकट भनिँदै आएका दुई नेताले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई साथ दिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निदहराम भएको छ। २९ माघमा सिंहदरबारस्थित संसदीय दलको बैठकमा आफूनिकट उभिँदै आएका सचिव पोष्टवहादुर बोगटी र स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री भट्टराईको पक्षमा उभिएपछि प्रचण्ड हैरान भएका हुन्।
कालो धनलाई सेतो बनाउन रोक्ने विधेयकलाई पास हुनै नदिने भन्ने उपाध्यक्ष मोहन वैद्य पक्षको मागलाई सम्वोधन गर्दै अध्यक्ष दाहाल उभिए पनि उनलाई साथ दिँदै आएका बोगटी र पुनले भने कुनै पनि हालतमा समर्थन जनाएनन्। सरकारलाई असफल बनाउने र भट्टराईकै कारण कालोसूचीमा परेको हो भन्ने सन्देश दिलाउने योजनाअनुसार प्रचण्डले वैद्य पक्षलाई उचालेको थाहा पाएपछि ऊर्जामन्त्री समेत रहेको बोगटी र अर्थमन्त्रीसमेत रहेका पुनले त्यसको प्रतिकार गरेका थिए। तर, भट्टराईलाई साथ दिँदै आएका भनिएका अर्का स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र दीनानाथ शर्माले भने बीचका कुरा राखेका थिए। स्थानीय विकास मन्त्रीसमेत रहेका रायामाझी तथा शिक्षामन्त्री शर्माले अध्यक्ष दाहाल र वैद्य पक्षको भनाइमा समर्थन जनाएका थिए।
यता, जनार्दन शर्मा प्रभाकर र वर्षमान पुनसँग रिसाउँदै आएका प्रचण्डले आफ्ना अर्का विश्वासपात्र पोस्टबहादुर बोगटीले पनि असिलियत थाहा पाएपछि विरोध गरेका थिए। 'अध्यक्ष आफै सरकारलाई 'फ्लेयर' गराउने काममा लाग्नुभएको छ, यो जसरी पनि गराउनु पर्छ' भन्दै बोगटी बम्कन थालेपछि प्रचण्ड तीनछक परेका थिए। सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन पास नगराए कालोसूचीमा पर्ने भन्दै अर्थमन्त्री पुनले आफूलाई बदनाम गराउने काममा अध्यक्ष लागेको बुझेपछि त्यसको प्रतिकार गरेका हुन्।
यद्यपि बहुमतले सो तीनै विधेयक पास नगराउने निर्णय गरेको थियो। बहुमतको निर्णयमार्फत् सो विद्येयक पास नगराउने निर्णय गरे पनि संसदमा भने वैद्य पक्षधर सभासदलाई मात्र विरोधमा उतारिएको थियो। संस्थापन पक्ष सो विधेयकको विरोधमा उत्रिएको होइन भनेर देखाउने कोसिस गरेको भए पनि त्यो कुरा धेरै दिन टिक्न सकेनन्। सोही पार्टीको सचिव सीपी गजुरेल स्वयंले विद्येयकहरु पास नगराउने पार्टीको संस्थागत निर्णय नै भएको सार्वजनिक गरेपछि प्रचण्डको दुई अनुहार उदांगो हुन पुगेको थियो।
We have 162 guests and no members online