Weekly Nepal

थाइल्यान्ड नेपालमा लगानी गर्न इच्छुक

काठमाडौँ, फागुन ८। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले थाइल्यान्डले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको बताउनुभएको छ।  

केही दिनको थाइल्यान्डको भ्रमणपछि आइतबार स्वदेश फर्कनुभएका अध्यक्ष वैद्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भैरहवाको एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरवृद्धि गर्न थाइल्यान्ड सरकारले आवश्यक सहयोग गर्ने र हाल सञ्चालन हुँदै आएको थाइ विमानसेवाका उडानहरू थप गर्ने आश्वासन दिएको उल्लेख गर्नुभयो। 

उहाँले सन् २०१३ लाई थाइल्यान्डले नेपालको लुम्बिनीलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेको उल्लेख गर्दै सन् २०१२/२०१३ भित्रमा नेपाल सरकारले सहयोग गरेमा ५० वटा परियोजनामा लगानी गर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो। 

थाइल्यान्डका उपप्रधानमन्त्री, पर्यटनमन्त्रीसँग नेपालको पर्यटन क्षेत्रको सुधार तथा सम्भाव्यता सम्बन्धमा विस्तृत छलफल भएको बताउँदै थाइल्यान्डबाट नेपालमा आउन सक्ने लगानी तथा प्रविधिका बारेमा छलफल भएको अध्यक्ष वैद्यले बताउनुभयो। 

अध्यक्ष वैद्यले नेपालबाट थाइल्यान्डमा जडीबुटी, हस्तकलाका सामग्रीहरूको निर्यात प्रचुर सम्भावना रहेको र ती सामानमा लगाइएको ४० प्रतिशत करलाई घटाएर नेपालको निर्यात बढाउन थाइल्यान्ड सरकारसँग माग गरेको उल्लेख गर्नुभयो।  

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रथम उपाध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्रका तर्फबाट नेपालमा लगानी भित्र्याउन, लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार गर्न र नेपालमा लगानी गर्न तयार भएर बसेको सन्देश फैलाउन भ्रमण सफल भएको बताउनुभयो। 

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार गर्ने, नेपालको लगानी वर्षलाई अगाडि बढाउन र थाइल्यान्डको आर्थिक अध्ययन गर्ने निजी क्षेत्रबाट पहिलोपटक विभिन्न जिल्लाका उद्योग–व्यवसायीसँग आबद्ध ७० जनाको एक टोली थाइल्यान्डको भ्रमणका लागि गत हप्ता त्यसतर्फ गएको थियो।  

 

Weekly Video

We have 193 guests and no members online