Weekly Nepal

थाइल्यान्ड नेपालमा लगानी गर्न इच्छुक

काठमाडौँ, फागुन ८। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले थाइल्यान्डले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको बताउनुभएको छ।  

केही दिनको थाइल्यान्डको भ्रमणपछि आइतबार स्वदेश फर्कनुभएका अध्यक्ष वैद्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भैरहवाको एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरवृद्धि गर्न थाइल्यान्ड सरकारले आवश्यक सहयोग गर्ने र हाल सञ्चालन हुँदै आएको थाइ विमानसेवाका उडानहरू थप गर्ने आश्वासन दिएको उल्लेख गर्नुभयो। 

उहाँले सन् २०१३ लाई थाइल्यान्डले नेपालको लुम्बिनीलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि सारेको उल्लेख गर्दै सन् २०१२/२०१३ भित्रमा नेपाल सरकारले सहयोग गरेमा ५० वटा परियोजनामा लगानी गर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो। 

थाइल्यान्डका उपप्रधानमन्त्री, पर्यटनमन्त्रीसँग नेपालको पर्यटन क्षेत्रको सुधार तथा सम्भाव्यता सम्बन्धमा विस्तृत छलफल भएको बताउँदै थाइल्यान्डबाट नेपालमा आउन सक्ने लगानी तथा प्रविधिका बारेमा छलफल भएको अध्यक्ष वैद्यले बताउनुभयो। 

अध्यक्ष वैद्यले नेपालबाट थाइल्यान्डमा जडीबुटी, हस्तकलाका सामग्रीहरूको निर्यात प्रचुर सम्भावना रहेको र ती सामानमा लगाइएको ४० प्रतिशत करलाई घटाएर नेपालको निर्यात बढाउन थाइल्यान्ड सरकारसँग माग गरेको उल्लेख गर्नुभयो।  

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रथम उपाध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्रका तर्फबाट नेपालमा लगानी भित्र्याउन, लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार गर्न र नेपालमा लगानी गर्न तयार भएर बसेको सन्देश फैलाउन भ्रमण सफल भएको बताउनुभयो। 

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार गर्ने, नेपालको लगानी वर्षलाई अगाडि बढाउन र थाइल्यान्डको आर्थिक अध्ययन गर्ने निजी क्षेत्रबाट पहिलोपटक विभिन्न जिल्लाका उद्योग–व्यवसायीसँग आबद्ध ७० जनाको एक टोली थाइल्यान्डको भ्रमणका लागि गत हप्ता त्यसतर्फ गएको थियो।  

 

'अर्गानिक मह उत्पादन गर्नुहोस्'

चितवन, फागुन ७ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अर्गानिक मह उत्पादनमा जोड दिन मौरीपालक किसानलाई आग्रह गरेका छन्। 
 
भरतपुरमा शनिबारदेखि सुरु भएको नेपाल मौरीपालक महासङ्घको १३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमा उनले नयाँ कार्ययोजना बनाएर ल्याए आफूले मह र मौरीपालन क्षेत्रमा सहयोग गर्ने आश्वासन समेत दिएका थिए।
 
कृषि विकासका लागि प्रभावकारी काम हुन नसकेको औँल्याउँदै उपसभापति पौडेलले भएका नीति र योजनामा पनि सरकार गम्भीर नबनेको दाबी गरे।योजना आउने र हराउने गरेकाले कृषिक्षेत्रमा राम्रो विकास हुन नसकेको उनको भनाइ थियो।
 
सम्मेलनमा ३२ जिल्लाका १५० भन्दा बढी मौरीपालक किसान सहभागी भएका छन्।

सानिमा अब वाणिज्य बैंक

राष्ट्र बैंकले सानिमा विकास बैंकलाई स्तरोन्नति गरी वाणिज्य बैकिङ कारोबार गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंक संचालक समितिको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।  

सानिमाले राष्ट्र बैंकबाट स्तरोन्नतिको पत्र पाएलगत्तै बैकिङ कारोबार थाल्ने जनाएको छ। हामी आगामी सातादेखि नै वाणिज्य बैंकको कारोबार सुरु गर्न तयार छौ, सानिमाका प्रमुख कार्यकारी अधिकारी कुमार लम्सालले भने, संस्थागत, सुशासन पूर्ण पालना भएकाले राष्ट्र बैंकले स्वीकृति दिएको हुनुपर्छ। हामी अब ग्राहकलाई अझ पुरस्कृत र आधुनिक बैंकिङ सुविधा दिनेछौ।  

सानिमा बैंकले चुक्ता पुँजी २ अर्ब १ करोड छ। बैंकमा गैरआवासिय नेपाली लगायत सर्वसाधारणको लगानी छ। यो निर्णयपछि अब छिट्टै सानिमाको सेयर कारोबार यथागत हुने भएको छ। विकास बैंकबाट स्तरोन्नति हुने क्रममा विगत केही महिनादेखि यो बैंकको सेयर कारोबार रोकिएको थियो। 

सिमेन्ट उद्योग धरासायी बन्दै

विराटनगर, फागुन ७ । लोडसेडिङका कारण पूर्वाञ्चलका सिमेन्ट उद्योगहरू कम उत्पादन गर्न बाध्य भएका छन्। पूर्वाञ्चलमा बढ्दो सिमेन्ट उद्योग तथा उत्पादनले भारतीय सिमेन्ट विस्थापित भइरहेका बेला लोडसेडिङले गर्दा नेपाली सिमेन्ट तथा उत्पादनलाई नेपाली सिमेन्ट उत्पादनमा प्रतिस्पर्धा गर्न समस्या परेको हो।
 
 
दैनिक एक हजार ५०० बोरा सिमेन्ट उत्पादन गर्ने झापाको मन्सा सिमेन्ट उद्योगका सञ्चालक परशुराम अग्रवाल लोडसेडिङ र कच्चापदार्थको अत्यधिक ढुवानी भाडाले आफूहरूलाई ठूलो समस्या परेको गुनासो गर्छन्। उनका अनुसार लोडसेडिङका कारण प्रतिबोरा सिमेन्ट उत्पादनमा थप रु ४०  लाग्ने गरेको छ भने डिजल नपाउँदा झन् समस्या थपिएको छ।  विद्युतबाट प्रतियुनिट रु पाँच खर्च हुने स्थानमा डिजलबाट प्रतियुनिट रु ४५ खर्च हुनेगरेको अग्रवालको भनाइ छ।
 
पूर्वाञ्चलमा उदयपुरको गैँडा सिमेन्ट, मारुती सिमेन्ट, सेन्चुरी, मन्सा, मित्तलको पशुपति र नेशनलको भव्या सिमेन्ट उद्योग सञ्चालनमा छन्। पूर्वाञ्चलमा रहेका सातवटा सिमेन्ट उद्योगले दैनिक दुई हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेका छन्।
 

बेमौसममा लालीगुराँस फुलेपछि पर्यटन व्यवसायी चिन्तित

ताप्लेजुङ, फागुन १ । साधारण तथा चैत–वैशाखमा फुल्ने लालीगुँरास ताप्लेजुङका पर्यटकीय क्षेत्रमा यो वर्ष माघ अन्तिममा नै ढकमक्क फुलेपछि पर्यटक व्यवसायी भने चिन्तित भएका छन्।
 
जिल्लाको पाथिभरा क्षेत्रलगायत पर्यटकीयस्थल कञ्चनजङ्घा संरक्षण क्षेत्रमा बेमौसममा नै यसरी लालीगुराँस फुलेपछि र पर्यटक आउने मौसममा गुराँस सकिने र सुक्ने डरले पर्यटक व्यवसायी चिन्तित भएका हुन्। 
 
दुई महिनाअघि नै फाट्टफुट्ट फुलेको गुराँस माघ सकिँदै पूरै फुलेको छ।  चैत–वैशाखमा लालीगुराँस हेर्न र योसँग रमाउन धेरै आन्तरिक र बाह्य पर्यटक आउने गरेको तर यो साल दुई महिनाअघि नै फुलेको र पछि सकिने पो हो कि भन्ने डर स्थानीय तथा व्यवसायीलाई भएको छ।  
 
वन क्षेत्रमा क्रियाशील सङ्घसंस्था भने जलवायु परिवर्तनको कारण गुराँस साबिकभन्दा अघि नै फुलेको दाबी गर्दछन्। जिल्लाका अधिकांश जङ्गल लालीगुराँसले मनमोहक बनेका छन्।

Weekly Video

Life&style

Women

We have 128 guests and no members online