Weekly Nepal

भ्रष्टाचारको दल–दलमा कृषिमन्त्री

काठमाडौं, माघ १३ । कृषि तथा सहकारी मन्त्री नन्दन दत्तका मन्त्रालयभित्र भ्रष्टाचारले संस्थागत रूप लिइरहेको कुरा सर्वाधिक बहसको विषय बन्दैछ। सरकारी साधन स्रोतको दुरूपयोग, आफूखुसी गरिएका राजनीतिक नियुक्ति, पार्टी निर्णयको बेवास्ता र सर्वोच्चको आदेशको अबमूल्यन लगायतका प्रसंगबाट कृषि मन्त्री दत्त आलोचित हुँदै गएका छन्। 


सरकार र पार्टी समन्वय समितिका निर्णयहरूलाई गलहत्याउँदै निजी स्वार्थपूर्तिका कारण गरिएका नियुक्तिहरूमा आर्थिक चलखेल रहेको आरोप पार्टीभित्रकै नेताहरूले लगाउन थालेका छन्। कानूनलाई मिच्दै साझा स्वास्थ्यका महाप्रबन्धक दयानन्द गोइत, साझा प्रकाशनकी महाप्रबन्धक ममता झा र राष्ट्रिय बीउ बीजन कम्पनी लिमिटेडका ननु झालाई बिना कारण बर्खास्तलगायतका दुःख दिएर अनुचित लाभ लिन खोजेको आरोप लाग्दै छ। सर्वोच्च अदालतले कतिपय प्रसंगमा उत्प्रेषणयुक्त परमादेश दिँदा पनि अदालतको आदेशलाई अवहेलना गर्दै सत्ता र शक्तिको दुरूपयोग गरी आफूखुसी निर्णय गरी कानूनभन्दा माथि बस्न खोजेको पाइएको छ। 


दुग्ध विकास संस्थानका महाप्रबन्धक अजबलाल यादवलाई पदच्यूत गरी ३५ लाख नगद लिएर सियाराम सिंहलाई महाप्रबन्धकको रूपमा नियुक्ति दिएको आरोप लाग्दैछ। यस कार्यमा मन्त्री दत्तका भाई विनोद दत्तको संलग्नता रहेको आरोप लाग्दा भाइ दत्तले आफ्नो संलग्नताको आरोप मिथ्था रहेको दाबी गरेका छन्। माननीय सन्ध्या देवको सिफारिसमा नेपालगन्जकै प्रमोद जालानको नियुक्ति कपास विकास समितिमा गरिँदा जालानसँग करिब ४० लाख रूपैयाँ असुली गरिएको चर्चा छ। तर, माननीय देवले उक्त आरोप निराधार रहेको र आफूलाई ज्ञात भएसम्म यस नियुक्तिमा पार्टी वा मन्त्रीले पैसा नलिएको कुरा दाबी गरेकी छिन्। 


पार्टीले आफ्ना केन्द्रीय सदस्य अधिवक्ता नन्दकिशोर साहलाई सहकारी विकास बोर्डका कानूनी सल्लाहकारमा नियुक्ति गर्न सिफारिस गरे पनि मन्त्री दत्तले पहाडी समुदायका सुरेश कार्कीलाई दोहोरो नियुक्ति गराई छाडे। निज कार्की गोरखापत्र संस्थानमा समेत कानूनी सल्लाहकारका रूपमा वर्तमान सरकारले नै नियुक्त गरेका छन्। सरकार र पार्टी समन्वय समितिले पार्टीकै केन्द्रिीय नेता तथा अधिवक्ता सीताराम अग्रवाललाई सहकारी विकास बोर्डका सहअध्यक्षका रूपमा नियुक्ति गर्न सिफारिस गरे तापनि मन्त्री दत्तले आन्तरिक स्वार्थका कारण विगत पाँच महिनादेखि बेवास्ता गर्दै आएका छन्। 
अर्कोतर्फ पार्टीभन्दा बाहिर रहेका हंसा साह र सोनी साह चौरसियालाई साझा स्वास्थ्यका सञ्चालक समिति सदस्यमा नियुक्ति दिइएको छ। सोनी साह नेपाली कांग्रेस टे्रड युनियन सप्तरी जिल्ला अध्यक्ष उमेश साहकी कान्छी श्रीमती हुन् भने हंसा साहले मन्त्रीसँग काकाको सम्बन्ध रहेका कारण ठाउँ पाएको दाबी गरेकी छिन्। मन्त्री दत्तले पशु सेवा विभागभित्र प्रथम श्रेणीका दसजना कर्मचारीलाई लेनदेनका आधारमा सरूवा गरिदिएको चर्चा छ। मन्त्री दत्तले गरेका आर्थिक अनियमितता, स्वेच्छाचारी निर्णय र कानूनको अवज्ञाकै कारण सर्वोच्च अदालतले दुईवटा अवहेलनाका मुद्दाहरूमा हाजिर हुन समेत बोलाइदिएको छ। 


मन्त्रालयभित्र मन्त्रीकै सहोदर भाइ विनोद दत्त आफन्त पवन लाल र सुरेश बस्नेतका हालिमुहाली रहका कारण पार्टीभित्र असन्तोष बढेको छ। मन्त्रीले गरेका भ्रष्टाचारका विरूद्धमा सुनसरीकै सोती यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्तासमेत गराएका छन्। अख्तियारद्वारा कारबाहीकै दायरामा रहेका मन्त्री दत्तका ससुरा पर्ने परशुराम लाल कर्णलाई नार्कमा परिसर सदस्यमा नियुक्ति दिएका छन्। अख्तियारको अनुसन्धान चलिरहेका बेला यसी दिइने नियुक्तिहरू कानूनसम्मत नहुने विश्लेषण व्यावसायीहरूको छ। मन्त्री दत्तले डीएपी मलको मूल्य बढाएर करिब चालिस लाख किसानहरूमाथि प्रति केजि १२ रूपैयाँ थप्न खोज्दा तत्कालीन सचिव उमाकान्त झाले सहयोग नगरेकै कारण उनलाई अन्यत्र सरूवा गराइ छाडेका थिए। प्रत्यक्ष असुलीका मारमा परेका साना तथा मझौला कृषक आयबृद्धि आयोजनाका प्रमुख शम्भु देव, पूर्वाञ्च कोशी बाढी पुनर्स्थापना कार्यक्रमका क्षेत्रीय निर्देशक श्रीनारायण शर्मा र अन्य आयोजनाका प्रमुखहरू कानूनका शरण वा सरूवा खोज्दैछन्। आफ्नो अनियमित कार्यमा सहयोग नगरेका कारण सहसचिव उत्तम भट्टराईलाई हटाइ उक्त स्थानमा फुलगेन्द्र प्रधानलाई ल्याइएको र प्रशासन सहसचिव लक्ष्मण भट्टराईलाईसमेत अन्यत्र सरूवा गराइदिएको आरोप मन्त्री दत्तमाथि लाग्दै आएको छ। मन्त्रालयकै बजार निर्देशनालयभित्र रहेका कृषि व्यवसाय प्रवर्द्धन तथा बजार विकास कार्यक्रमका एघार करोड बजेटमध्ये अत्याधिक रकमको दुरूपयोग गरिएको कुरा मन्त्रालयभित्र चर्चा छ। मधेशी नेताहरू नातावाद, कृपावाद, जातिवाद, पदलोलुप, भ्रष्टाचारी र मधेशीलाई नै दुःख दिएर अनुचित लाभ लिई मधेशवाद बदनाम गरेको दाबी गर्दै आएका वर्तमान मन्त्री नन्दन दत्तका क्रियाकलाप र वास्तविकताबारे बुझ्न जरूरी छ। नेपाली कांग्रेसका पृष्ठभूमि भएका फोरम गणतान्त्रिकका नेता दत्तले फोरम नेपालबाट छुट्टिदा सार्वजनिक गरेका श्वेतपत्रका मानमर्दन किन गर्दैछन्? नन्दन दत्त आफै भ्रष्टाचारमा चुर्लुम डुबेका छन् वा उनलाई बदनाम गराउने दह्रो षड्यन्त्र हुँदैछ। मन्त्री दत्तले आफू कसैसँग एकपैसा पनि नलिएको दाबी गर्दै आइरहेका छन् भने अर्कोतर्फ मन्त्रालय वा पार्टी परिधिभित्र भ्रष्टाचारका सप्रमाण चर्चा भइरहेको छ। असुल गरिएका रकममध्ये पार्टी कोषमा नदिएका आरोप समेत केन्द्रीय नेताहरू लगाउँदै आएका छन्। भ्रष्टाचारीका ताजबाट विभूषित हुनु पूर्व मन्त्री दत्तले आफ्ना वास्तविक कुरा जनतासामु समयमै प्रष्ट्याउन जरूरी छ।

Weekly Video

Life&style

Women

We have 186 guests and no members online