काठमाडौं, माघ १३ । एकीकृत नेकमा माओवादी स्थायी समिति बैठकले ‘जनसत्ता’ का घरजग्गाबारे मन्त्रिपरिषद्ले गरेको निर्णय सही भएको भन्दै फिर्ता नगर्ने निर्णयपछि प्रधानमन्त्री बाबुराम भट्टराई निकै अप्ठ्यारोमा परेका छन् । अध्यक्ष पुष्पकमल दाहालले जनसत्ताको बेला किनबेच भएका घरजग्गालाई मान्यता दिने निर्णय सही भएको बताएपछि भट्टराईले सरकार झन् अप्ठ्यारोमा परेको महसुस गरेका हुन् ।
भट्टराई राजनीतिक गतिरोध अन्त्य गरी सेना समायोजनको काम अघि बढाउने मनस्थितिमा छन् । त्यसका लागि उनी जनसत्ताको घरजग्गा सम्बन्धि निर्णय सच्याउने मनस्थितिमा पुगेका थिए । तर पदाधिकारी बैठकले त्यो निर्णय फिर्ता लिन नहुने निर्णय गरेपछि अघि बढ्न सकेन । ‘जनसत्ताले घरजग्गासम्बन्धि गरेको निर्णय सही छ र त्यो फिर्ता लिन हुँदैन भन्ने निर्णय भयो’ सचिब सीपी गजुरेलले भने, ‘जनताको समस्या समाधान गर्न गरिएको निर्णय किन फिर्ता लिने ?’
भट्टराई निकट एक नेताका अनुसार दाहाल यतिबेला पार्टीभित्र ‘दोहोरो भूमिका’ मा छन् । उनका अनुसार, दाहालले बाहिरी रुपमा शान्ति र संविधानको कुरा गरे पनि भित्री रुपमा बैद्यको जनबिद्रोह कार्यदिशालाई बलियो बनाउने काम गरेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकले पारित गरेको प्रस्तावले पनि त्यही कुरालाई संकेत गरेको छ । त्यसमा उनले शान्ति र संविधानका साथै जनबिद्रोहको बिषयलाई पनि समानान्तर रुपमा अघि बढाएका छन् । त्यसले कांग्रेस, एमालेलाई थप आशंका बढाइदिएको छ ।
यही साता एमाले नेता माधबकुमार नेपालसंगको ‘अन्तरङ्ग’ कुराकानीमा दाहालले आफूले बनाएको सरकारको बिरोध गर्न नमिल्ने बताएका थिए । उनले ‘सरकारबारे बिरोध गर्ने अधिकार प्रतिपक्ष’ भएको भएको भन्दै सरकारप्रति असन्तुष्टि पोखेका थिए । पछिल्लो पटक शान्ति प्रक्रियामा ‘ब्रेक’ लाग्नुलाई उनीहरुले दाहालको भूमिका प्रमुख भएको उनीहरुले दाबी गरेका छन् । ‘जनताको संघीय गणतान्त्रिक संविधान बनाउने र सम्मानजनक सेना समायोजन’ मा षड्यन्त्र भए जनबिद्रोहको तयारी गर्ने कार्यदिशा बैद्य पक्षको हो । पछिल्लो केन्द्रीय समितिमा त्यसलाई दाहालले समर्थन गरेका छन् ।
त्यसपछि भट्टराईसंगको कुराकानीमा दाहालले ‘सरकारबारे तपाई ढुक्क हुनुहोस्’ भनेका थिए । तर सरकारलाई परेको अप्ठ्यारो सल्ट्याउने बिषयमा दाहालले खासै पहल नगरेपछि भट्टराई झन सशंकित भएका हुन् । दाहालले कांग्रेस, एमालेलाई समेत उक्साएको आरोप भट्टराई पक्षले लगाउन थालेका छन् । दाहाल पक्षले भने त्यसलाई अस्वीकार गरेको छ ।
सरकार बनेदेखिनै बिरोध गर्दै आएका उपाध्यक्ष मोहन बैद्य पक्षसंग दाहालले ‘कार्यगत एकता’ गरी संटकमा पारेको भट्टराई निकट एक नेताले बताए । पछिल्लो केन्द्रीय समिति बैठकले पारित गरेका साझा नयाँ प्रस्तावमा बैद्यसंग दाहाल नजिकिएपछि भट्टराई क्रमशः एक्लिदै जान थालेका हुन् । श्रोतका अनुसार हाल दाहाल र भट्टराईको दुरी बढ्दो र दाहाल र बैद्य निकट हुदै गएको छ । बिशेष गरी सरकारलाई कमजोर गराउने बिषयमा दाहाल–बैद्यबीच कुरा मिल्दै गएको श्रोतको दाबी छ ।
माओवादीलाई कांग्रेस एमालेले ‘गलाउँदै’ लगेकाले आफ्नो अडान बलियो पार्नु परेको दाहाल निकट हरिबोल गजुरेलको भनाइ छ । ‘मुख्य नेतृत्व कहिले पनि कोहीसंग नजिक र टाढा हुँदैन’ उनले भने, ‘अहिले संघर्षको बेला छ, किरण (बैद्य) जीसंग नजिक भएको जस्तो देखिन्छ । भोलि फेरि दलहरुसंग सहमति गर्नुपर्यो भने बाबुरामजीसंग नजिक भएको जस्तो देखिन्छ ।’ उनले राष्ट्रिय सहमतिको सरकारको बनाउने बिषयमा कुरा गरे पनि बिना बिकल्प सरकार कमजोर बनाउने भूमिकामा दाहाल नभएको दाबी गरे ।
जनसत्ताका बेला भएको घरजग्गामा भएको कारोबारलाई मान्यता दिनु, पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले सरकार अप्ठ्यारोमा परेकै छ । त्यसमा दाहाललेनै साथ दिन छाडेपछि झ्न अप्ठ्यारो स्थिति आएको छ । मंगलबार पाल्पामा भएको पार्टी प्रशिक्षणमा बैद्यले सरकारबारे ‘खाऔ भने दिनभरिको शिकार नखाऔ भने कान्छा बाउको अनुहार’ भनेर टिप्पणी गरेका थिए । पार्टीका आन्तरिक प्रशिक्षणमा दाहालले सरकारबारे खासै समर्थन नगरी बैद्यलाई मौन समर्थन गरेको अनुमान पार्टीभित्र गर्न थालिएको छ ।
We have 169 guests and no members online